बाढीपहिरो समस्याको दीर्घकालीन समाधान खोजौं : प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, ०२ असार २०७८, ११ : ३१
बाढीपहिरो समस्याको दीर्घकालीन समाधान खोजौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका विभिन्न ठाउँमा बाढी र पहिरोले पुर्‍याएको क्षतिप्रति दुख व्यक्त गरेका छन् ।

बुधवार विज्ञप्ति जारी गर्दै प्रचण्डले हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू-भागमा पहिरो जाने समस्याको दीर्घकालीन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग उनको आग्रह छ ।

‘मौसमविद्हरूको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको बेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको हो’, प्रचण्डको टिप्पणी छ ।प्रचण्डले विपद्को बेला राहत र उद्धार कार्यमा आ-आफ्ना क्षेत्रमा जुट्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

‘यस महाविपत्मा राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरु निर्देशन गर्दछु। राहत र उद्धार कार्यमा जुटिरहेका सुरक्षाकर्मी, समाजसेवी र अन्य स्वयंसेवी जनसमुदायहरुको सक्रियताप्रति धन्यवाद ज्ञापन गर्दछु’, प्रचण्डले भनेका छन्।

बाढी–पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागहरुमा धनजनको ठूलो क्षति भएको छ भने कोशी, नारायणी, सेती, कमला, तिनाउ, कर्णाली, महाकाली लगायतका नदीहरुमा पानीको बहाव उच्च भई बस्तीहरु डुब्ने खतरा पैदा भएको प्रचण्डले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस