काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमृत भाषाका रुपमा रहेको संस्कृतको पुनर्जागरण गरिनुपर्नेमा जोड दिएक छन् ।
प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको ७० औँ वार्षिकोत्सवका अवसरमा आज जुम प्रविधिबाट आयोजित कार्यक्रममा उहाँले संस्कृत मासिने भाषा नभएको बताए । ज्योतिष, आयुर्वेद, दर्शनजस्ता ज्ञान, विज्ञान रहेकाले संस्कृत विश्वकै धनी भाषामध्येमा पर्ने पूर्व सभामुखसमेत रहनुभएको पौडेलले सुनाए ।
संस्कृत भाषाकै पृष्ठभूमिमा नेपाली भाषा परिष्कृत भएकाले राजनीतिकै कारण यसलाई बिगार्नु नहुने विद्यापीठका पूर्व विद्यार्थीसमेत रहनुभएका पौडेलले बताए । “यही क्षेत्रमा समर्पित हुने संयोजकको आवश्यकता छ, राजनीतिक क्षेत्रबाट सहयोग गर्ने काम हामी गर्छौँ, संस्कृतको पुनर्जागरण गर्न लागिपर्नुपर्छ, निराशा छोडेर आशावादी बनौँ, जयतु संस्कृतम्बाट लोकतन्त्र स्थापना भएको छ, संस्कृतका विद्वानमा एकताको भावना आवश्यकता छ, गुरु सत्यका पक्षधर बन्नुपर्छ”, उहाँले भने ।
विसं २०२० देखि २०२४ सालसम्म आफूले तत्कालीन संस्कृत महाविद्यालयबाट संस्कृत साहित्यमा शास्त्री उत्तीर्ण गरेको नेता पौडेलले सुनाए । उनले भने “मलाई राजनीतिमा स्थिर हुन संस्कृत पृष्ठभूमिले साथ दिएको छ, संस्कृत र यसका विद्वानप्रति कृतज्ञ छु”, ।
पूर्व सांसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले प्राज्ञिक चेतनाको कोणबाट वाल्मीकि विद्यापीठलाई सम्झनुपर्ने बताए । चाणक्यले भारतवर्षमा चेतनाका माध्यमबाट एकता कायम गरेको उहाँको भनाइ थियो ।
विद्यापीठमा छिरेपछि राजनीतिक विचारको वाहकभन्दा पनि पूर्वीय संस्कृतिको वाहकका रुपमा सोचेर काम गर्नुपर्ने उहाँले बताए । बाहिरी आक्रमणबाट जोगिन पनि परिणाम दिने गरी काम गर्न उहाँको सुझाव छ ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले पश्चिम पूर्वतिर फर्किरहेका बेला विश्वविद्यालय ज्ञानको अखण्ड भण्डार हो भन्ने सन्देश दिनुपर्ने बताए ।
कोरोनाकै कारण विश्वविद्यालयको दीक्षान्त गर्न नसकिएको उहाँले सुनाउनुभयो । भदौ, असोजसम्ममा दीक्षान्त समारोह गर्ने उपकुलपति लामिछानेको प्रतिबद्धता छ । विश्वका अन्य विश्वविद्यालयसँग सहकार्य गर्न लागिएको विश्वविद्यालयले जनाएको छ ।
शिक्षाध्यक्ष प्रा डा भीमप्रसाद खतिवडाले कोरोना कहरका कारण प्रविधिलाई उपयोग गरेर कक्षा चलाइएको बताउनुभयो । कुलसचिव माधवप्रसाद अधिकारीले पश्चिमाहरुसमेत संस्कृतप्रति आकर्षित भइरहेका बेला विश्वविद्यालयको महत्व बढेको बताए । कोभिडपछि विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन लागिएको विश्वविद्यालयले जनाएको छ ।
पिण्डेश्वर र वाल्मीकि विद्यापीठले स्मार्ट कक्षा चलाउँदै प्रविधिमा फड्को मार्न टेण्डरसमेत आह्वान गरिसकेका छन् । वाल्मीकि विद्यापीठको वेदशालालाई कसरी चलाउन सकिन्छ भनेर छलफल चलाउनुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ३१ जेठ २०७८, २२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शक : राष्ट्रपति पौडेल
शीतल निवासमा मेलम्चीको पानी आपूर्ति नियमित नभएको विषयमा राष्ट्रपति पौडेलको चासो
श्रम र पूँजीलाई सँगै अघि बढाउन आवश्यक छ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
शल्यक्रियापछि राष्ट्रपतिको स्वास्थ्यमा सुधार