सुदूरपश्चिम : महिलाभन्दा पुरुष दोब्बर सङ्क्रमित

रासस

बुधबार, १२ जेठ २०७८, १८ : १७
सुदूरपश्चिम : महिलाभन्दा पुरुष दोब्बर सङ्क्रमित

महेन्द्रनगर । कोरोना सङ्क्रमणको दोस्रो लहरमा सुदूरपश्चिम प्रदेशमा महिलाको तुलनामा पुरुष बढी सङ्क्रमित देखिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबारसम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा महिला नौ हजार ५३६ जनामा पीसीआर पोजेटिभ देखिएको छ भने २१ हजार ४४२ जना पुरुष सङ्क्रमित देखिएका छन् । कुल सङ्क्रमितमध्ये पुरुष ६९ प्रतिशत र महिला ३०.७९ प्रतिशत छन् ।

निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले केही दिनयता सङ्क्रमण दर घट्दै गइरहेको भएपनि स्वास्थ्य सर्तकता अपनाउन जरुरी रहेको बताए । “सङ्क्रमणदर घट्दै गएपनि हामीले स्वास्थ्य सर्तकता अप्नाउन छाडे पुनः महामारीको रुप लिन सक्छ”, उनले भने, “यो आफू पनि बाच्ने र अरुलाई पनि बचाउनुपर्ने बेला हो ।”

उनले केन्द्र र प्रदेश सरकारको पहलमा कोरोना परीक्षण दायरा बढाउन एन्टिजेन किट खरिदको पहल भइरहेको बताए । “ प्रदेश सरकारले २० हजार किट खरिद प्रक्रिया अघि बढाएको छ”, उनले भने ,“ केन्द्रबाट पनि सुदूरपश्चिमलाई आवश्यक किट पठाउने तयारी गरेको खबर छ ।” उनले प्रदेश सरकारले अक्सिजन सिलिण्डर र अक्सिजन कन्सनटटे«र सबै पालिकासम्म पु¥याउने तयारी गरिरहेको बताए ।

त्यसैगरी सुदूरपश्चिममा मङ्गलबारसम्म ३९ हजार ३०९ जनाको एन्टिजेन परीक्षण गर्दासम्म ५ हजार ७९२ जना पोजेटिभ देखिएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । पिसिआर परीक्षणबाट पोजेटिभ देखिएकामध्ये दश हजार भन्दा बढी यहाँ सक्रिय सङ्क्रमित रहेका छन् । यहाँ १९ हजार ९८२ जना कोरोना जितेर घर फर्किसकेका छन् भने सङ्क्रमणबाट हालसम्म २५५ जनाले ज्यान गुमाएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस