एमालेकै सांसदहरुका कारण मुलुक मध्यावधि निर्वाचनमा गयो : परराष्ट्रमन्त्री ज्ञवाली

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, ०८ : ०९
एमालेकै सांसदहरुका कारण मुलुक मध्यावधि निर्वाचनमा गयो : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री एवं नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एमालेकै सांसदहरुको कारण मुलुक मध्यावधि निर्वाचनमा गएको बताएका छन् । मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

बैठकपछि मन्त्री ज्ञवालीले एमालेकै सांसदहरुले शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका कारण मुलुक मध्यावधितर्फ गएको बताएका हुन् । ‘अनिवार्य रुपमा मध्यावधिमा जानु थियो । यो कुरा राष्ट्रपतिको पत्रले नै प्रस्ट पारेको थियो । संविधानको धारा ७६९५० अनुसारको प्रधानमन्त्री बन्न दिनु भएन साथीहरुले ।

यदि हाम्रा साथीहरुले उता हस्ताक्षर नगरेको भए महन्थजीको दलका १२ जनाले अन्त हस्ताक्षर गरे पनि फरक पर्दैनथ्यो,’ मन्त्री ज्ञवालीले भने, ‘हाम्रो १२१ र महन्थजीहरुको २० जना रहँदा संसद जोगिन्थ्यो । विश्वासको मत प्राप्त हुने वातावरण हुन्थ्यो । संसदले पूर्ण कार्यकाल बिताउन पाउँथ्यो । हाम्रै साथीहरुको कारणले गर्दा मुलुक मध्यावधिमा गयो ।’

प्रतिक्रिया दिनुहोस