तातोपानी आइपुग्यो व्यापारीले चीनबाट ल्याएको अक्सिजन सिलिन्डर

सफल खबर संवाददाता

सोमबार, ०३ जेठ २०७८, १६ : ३७
तातोपानी आइपुग्यो व्यापारीले चीनबाट ल्याएको अक्सिजन सिलिन्डर

सिन्धुपाल्चोक । तातोपानी नाकाबाट सोमबार दिउँसो १२ बजे अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री भित्रिएका छन् । नेपाली व्यापारीले चीनको स्थलमार्ग हुँदै १८ हजार अक्सिजन सिलिन्डर चिनियाँ कन्टेनरमार्फत ल्याएका हुन् । 

सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाका अनुसार व्यापारिक प्रयोजनका लागि व्यवसायीले १८ हजार सिलिन्डर ल्याएका हुन् । ‘हालै भित्रिएका चार कन्टेनरमध्ये दुई कन्टेनरमा स्याउ र अन्यमा खाली सिलिन्डर छन्, अरु कति आउँदै छ त्यो आएपछि थाहा हुनेछ,’सीमास्थित ‘बीओपी’का सशस्त्र प्रहरी निरीक्षक केशवकुमार श्रेष्ठले भने ।अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्डअनुसार कन्टेनर नेपाल भित्र्याइएको उनको भनाइ छ ।

आइतबार नै स्वास्थ्य सामग्री नाकामा आइपुगेको भनेर प्रचार गरिएको थियो । तर तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार स्वास्थ्य सामग्री सोमबार दिउँसो मात्रै तातोपानी नाका आइपुगेको हो । ‘तातोपानी बजारमा कन्टेनर आइपुगेको छ, यहाँ आएपछि कन्टेनर खोलेर सम्पूर्ण तथ्यांक संकलन र वितरणमा जुट्नेछौँ, हामी सबै त्यसकै तयारीमा छौँ,’ उनले भने ।

व्यावसायिक प्रयोजनका लागि ल्याइएका ७५ सय सिलिन्डरसहित अन्य सामग्री भन्सार प्रक्रिया पुर्‍याएर आइतबार खासा क्षेत्रमा आइपुगे पनि सोमबार नाकामा आइपुगेको उनले उल्लेख गरे । व्यवसायीको भनाइअनुरुप बाटोमा रहेकामध्ये दस हजार सिलिन्डर एभरेस्ट ग्यासका सञ्चालक शिवप्रसाद घिमिरे र व्यवसायी दीपक मल्होत्राले आयात गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस