पिसिआरका लागि काठमाडौंमा स्वाव संकलन सुरु

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १४ : ५०
पिसिआरका लागि काठमाडौंमा स्वाव संकलन सुरु

काठमाडौं । कोभिड १९ संक्रमणको दोश्रो लहरसँगै लक्षणसहितका संक्रमितहरुको संख्या बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले बिहिबारदेखि पिसिआरका लागि स्वाव संकलन गर्ने काम सुरु गरेको छ । काठमाडौं महानगरपालिकाले कन्ट्रयाक्ट टेसिङमा परेका र लक्षण देखिएकालाई निशुल्क पिसिआर परीक्षण गर्नका लागि स्वाव संकलन गर्ने गरेको थियो ।

कोभिड संक्रमणमा कमि आएपछि महानगरले ५ वटा केन्द्र तोकेर व्यवस्थापन गरेको थियो । तर केन्द्र नपरेको स्थानमा पनि आवश्यकताका आधारमा पिसिआरका लागि स्वाव संकलनको व्यवस्था मिलाउँदै आएको महानगरले आफ्ना स्वास्थ्यकर्मी लगायत त्यस कार्यमा जुट्ने कर्मचारीहरुमा कोभिड संक्रमण देखिएपछि केही समय स्वाव संकलनको कामलाई स्थगत गरेको थियो ।

दोश्रो लहरमा लक्षण सहितका संक्रमितको संख्या अत्याधिक वृद्धि भएको र जटिल किसिमका लक्षण पनि देखिन थालेपछि महानगरले जनशक्ति थप गरेर भएपनि पिसिआरका लागि स्वाव संकलन कार्यलाई पुन सञ्चालनमा ल्याएको महानगरपालिकाका जनस्वास्थ्य प्रमुख हरि बहादुर कुँवरले जानकारी दिए ।

यसअलावा महानगरले सबै नगरवासीको स्वास्थ्यलाई मध्यनजर गरि जनचेतना जगाउने कार्य पनि गरिरहेको जनस्वास्थ्य प्रमुख कुवँरले बताए । महानगरपालिकाले बिहान बढी भीडभाड हुने तरकारी, फलफुल पसल लगायत स्थानमा माइकिङ गरेर सचेतना कार्यक्रम सुरु गरेको छ ।

त्यसैगरी वडा वडामा पनि सचेतना फैलाउनुको साथै संक्रमित भएर घरमै बसेका बिरामीको व्यवस्थापन, सहयोग र उपचारका लागि सचेतना टिम गठन गरेर ३२ वटै वडाले काम गर्ने गरि सचेतना टिम घोषणा गरिएको उनले जानकारी दिए । महानगरले विषम परिस्थितिमा कोही पनि भोकै बस्नु नपरोस् भनेर विपन्न परिवारलाई खाद्यान्नको व्यवस्था गर्ने गरि वडाहरुलाई समन्वय गर्ने गरि काम गरिरहेको जनस्वास्थ्य प्रमुख कुवँरले बताए ।

प्रतिक्रिया दिनुहोस