ओलीलाई देउवाको प्रश्न - छातीमा हात राखेर भन्नुस् यो अवस्था तपाइँको व्यक्तिगत दम्भकै कारण आएको होइन ?

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, १४ : ५४
ओलीलाई देउवाको प्रश्न - छातीमा हात राखेर भन्नुस् यो अवस्था तपाइँको व्यक्तिगत दम्भकै कारण आएको होइन ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई आत्मसमिक्षा गर्न सुझाव दिएका छन् । प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिदैं प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका देउवाले  यस्तो सुझाव दिएका हुन् ।

‘मानिस दुनियाँबाट भाग्न सक्छ , आफैबाट भाग्छ सक्दैन । एकपटक छातीमा हात राखेर भन्नुस्, आफैले आफैले सोध्नुस् । यो अवस्था तपाईको व्यक्तिगत दम्भ, राजनीतिक र प्रशासनिक कुशासनका कारण आएको होइन ? ’ देउवाले सोधे ।

उनले प्रधानमन्त्री ओलीकै कारण आजको अवस्था आइपरेको बताए । आफू कार्यकारी प्रधानमन्त्री भएर अरुलाई दोष नथोपर्न प्रधानमन्त्री केपी शर्मा ओलीसंग आग्रह गरेका छन् ।

आफू कार्यकारी प्रधानमन्त्री हुने अनि अरुमाथि दोष थोपर्ने ? अरुमाथि गुनासो र दोष थोपरेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनुहुन्छ ?’, देउवाको प्रश्न थियो ।

‘३ वर्षअघि एमाले र माओवादी मिलेर गठबन्धन गरेर झण्डै दुई तिहाई बहुमत ल्याएर प्रधानमन्त्रीजीले सरकार बनाउनुभएको छ । आज उहाँ विश्वासको मत माग्नुपर्ने अवस्थामा पुग्नुभएको छ । यसका लागि उहाँ नै जिम्मेवार हुनुहुन्छ’, देउवाले भने । आफ्नो असफलताको दोष अरुलाई थोपर्ने गरेको भन्दै देउवाले प्रधानमन्त्री ओली नेतृत्वको सरकार पूर्ण रुपले असफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस