प्रहरी अस्पतालमा अक्सिजन उत्पादन शुरु

रासस

मंगलबार, २१ बैशाख २०७८, १८ : २९
प्रहरी अस्पतालमा अक्सिजन उत्पादन शुरु

काठमाडौं । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा अक्सिजन उत्पादन शुरु गरिएको छ । उक्त अस्पतालले दैनिक १४० सिलिण्डर उत्पादन क्षमताको ‘डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम’ सञ्चालनमा ल्याएको हो । 

यहाँ प्रतिसिलिण्डर ४६ लिटर अक्सिजन क्षमता रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार अस्पतालमा खपद हुनेभन्दा बढी अक्सिजन उत्पादन हुने भएकाले महामारीको समयमा अन्य क्षेत्रमा माग अनुसार अक्सिजन वितरण हुनेछ । 

कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक, सिलिण्डर फिलिङस्टेशन लगायतका उपकरण राखिएको उक्त सिस्टम ‘युनाइटेड नेशन अफिस फर प्रोजेक्ट सर्भिसेज’ ९युएनओपिएस० को सहयोगमा करिब रु तीन करोड लागतमा सञ्चालनमा ल्याइएको हो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज उक्त सिस्टमको निरीक्षण गर्दै यसले काम गर्ने पद्धतिबारे जानकारी लिए । उनले  अस्पतालका विभिन्न विभाग कोभिड–१९ बाट सङ्क्रमितको उपचार सेवा, नयाँ थप भएका वेड, पिसिआर परीक्षणस्थल लगायतको समेत निरीक्षण गरे ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अक्सिजन सिस्टम निर्माणमा सहयोग पु¥याउने संस्थालाई धन्यवाद दिँदै यसबाट अस्पतालको उपचार पद्धति तुलनात्मक रुपमा अझै राम्रो हुने विश्वास व्यक्त गरे  । अस्पतालको सेवालाई उत्कृष्ट बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सक्रिय हुनुपर्ने र यसका लागि प्रहरी प्रधान कार्यालयको पूर्ण साथ र सहयोग कायम रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस