सल्यान अस्पतालमा अक्सिजन र एन्टिजेन किटको अभाव

रासस

मंगलबार, २१ बैशाख २०७८, १४ : ०९
सल्यान अस्पतालमा अक्सिजन र एन्टिजेन किटको अभाव

सल्यान । अस्पतालमा अक्सिजन अभाव भएको छ । कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालमा अक्सिजन अभाव भएपछि जटिलखालका कोरोना सङ्क्रमितहरु प्रभावित हुन थालेका छन् । 

अस्पतालमा रहेका १७ वटा अक्सिजन सिलिण्डरमध्ये १४ वटा प्रयोगमा आएकामा ती सिलिन्डरहरु पनि खाली भएपछि सङ्क्रमितहरुलाई अक्सिजन दिन बन्द गरिएको छ । अस्पतालमा भएका तीन वटा सिलिण्डरहरु बिग्रेको अस्पतालले जनाएको छ । 

कोरोना सङ्क्रमितहरुलाई उच्च क्षमतामा अक्सिजन दिनुपर्ने भएकाले एकै दिनमा १० वटा सिलिन्डर सकिने गरेको स्वास्थ्यकर्मी बताउँछन् । “हरेक २४ घण्टामा १० वटा सिलिन्डर सकिन्छन्, बाँकीले आठदेखि १० घण्टा धान्नुपर्छ । यतिबेला बिरामीहरुलाई पूरा समय अक्सिजन पुग्दैन”, अस्पतालका डा भिमकान्त जैसीले भने । 

अस्पतालमा सुर्खेतबाट अक्सिजन ढुवानी गर्नुपर्ने भएकाले सुर्खेत जान र आउन तथा सिलिण्डर भर्न समय लाग्ने हुँदा अक्सिजन समयमा पु¥याउन समस्या भइरहेको डा जैशी बताउछन् । अस्पतालमा थप १० वटा सिलिण्डर मात्रै भएको भए पनि केही राहत हुने उनको भनाइ छ ।

अस्पतालमा भर्ना भएका अन्य बिरामीलाई समेत अक्सिजन दिनुपर्ने अवस्था रहेको डा प्रदीप शर्माले बताए । केही दिनअघि मात्रै अस्पतालमा अक्सिजन प्लान्ट मेसिन आएको छ । कर्णाली प्रदेशबाट मेसिन त आयो तर जडान गर्ने जनशक्ति नपठाउँदा त्यसै थन्किएको छ । अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि भने काम गर्न सहज हुने शर्माको भनाइ छ ।

यसैबीच सल्यान अस्पतालमा एन्टिजेन किट सकिएपछि कोरोना परीक्षण रोकिएको छ । एन्टिजेन विधिमार्फत अस्पतालमा गरिंदै आएको कोरोना परीक्षण हाललाई स्थगित गरिएको स्वास्थ सेवा कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस