पदमुक्त प्रदेश प्रमुख अमिक शेरचनको टिप्पणी : ‘अधिकारविहिन खुला जेलबाट पदमुक्त गरिदिएकोमा राष्ट्रपति र प्रधामन्त्री ओली प्रति आभार’

'पद र सत्ताको लागि असंवैधानिक पद्धती र अपाच्य दृष्यहरु थोपर्ने पद जोगाउने व्यक्ति म होइन, पदकै लागि वैचारिक आस्था बम्बैको कोठीमा बिक्री गर्ने व्यक्ति हुँ'

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, ११ : २८
पदमुक्त प्रदेश प्रमुख अमिक शेरचनको टिप्पणी : ‘अधिकारविहिन खुला जेलबाट पदमुक्त गरिदिएकोमा राष्ट्रपति र प्रधामन्त्री ओली प्रति आभार’

काठमाडौं । गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले अधिकारविहिन खुला जेलबाट पदमुक्त गरिदिएको राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री केपी शर्मा ओली प्रति कटाक्ष गर्दै आभार व्यक्त गरेका छन् । पदमुक्त भएसंगै प्रेस विज्ञप्ती जारी गर्दै उनले आफु पदमा नियुक्त भएलगत्तै संवैधानिक मर्यादालाई पूर्णपालना गर्दै कुनै पनि पार्टी विशेषको प्रभाव र छायामा परेर काम नगरेको उल्लेख गरेका छन् ।

उनले विज्ञप्तीमा भनेका छन्–‘सरकारले जे प्रस्ताव ल्यायो त्यसलाई संवैधानिक नियम अनुसार निर्णय गर्ने गरेर माननीय सांसदहरुबाट जे–जे प्रस्ताव आए त्यसलाई पनि संवैधानिक नियम बमोजिम नै निर्णयार्थ सम्पादन गरेको हुँ । यसबाट कसैको लागि अप्रिय भएको भए त्यो संविधान हेरेर चित्त बुझाउन अनुरोध गर्दछु ।’

प्रदेश प्रमुखको पद ग्रहण गरेको १८ महिना २ दिन पुगेको स्मरण गर्दै उनले यस बीचमा साथी सम्झेर माया गर्ने सबैप्रति आभार प्रकट गरेका छन् । आफु पदमुक्त भएकामो अत्यन्तै खुसी लागेको भन्दै उनले  देश कोभिडबाट आतंकित र आक्रान्त बनेर दैनिक मृत्युदर बढिरहेको छ, यस्तो अवस्थामा सम्पूर्ण राजनीतिक दलहरुको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जीउधनको रक्षा गर्नुपर्ने अहम बेलामा पार्टी–पार्टी बीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाइएको उल्लेख गरेका छन् ।

हेर्नुहोस उनले जारी गरेको विज्ञप्ती जस्ताको तस्तै :

प्रेस वक्तव्य
आदरणिय पत्रकार साथीहरु :
प्रदेश प्रमुखको पद ग्रहण गरेको आज १८ महिना २ दिन पुगेछ । यस बीचमा मलाई साथी सम्झेर माया गर्ने सबैप्रति आभार प्रकट गर्दछु । कार्यालयका कर्मचारी सुरक्षामा कार्यरत सबै जवान र सचिवालयका सबै साथीहरुबाट सहयोग र सम्मान पायौँ । यहाँहरुप्रती आभार व्यक्त गर्दछौँ । पदमुक्त भएकोमा अत्यन्तै खुशी छु । मुरी मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई । पहिला ओली जी र पुनः प्रचण्डजी मार्फत ओली जीको प्रस्ताव मैले अस्विकार गरेको पद थियो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भै स्वीकारेको पद हो यो । अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनुभएकोमा पनि धन्यवाद ।

म पदको लागि राजनीति गरेको व्यक्ति होइन । पूर्व राष्ट्रपति डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिको लागि मलाई प्रस्ताव आयो । मैले अस्विकार गरेँ । त्यस्तै ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको व्यक्ति हुँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल, क.यज्ञदेव आले, क.निर्मल लामा र क.मोहन विक्रम सिंह जस्ता शीर्षस्थ नेताहरुको निकटमा रहेर सक्रिय राजनीतिक संघर्षमा आफ्नो जीवन समर्पित गरें । पदका लागि कुनै प्रकारको बार्गेनिङ गरिनँ ।

सन्त नेता क.मनमोहन अधिकारीको निधन पछि एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनि मैले स्वीकार गरिनँ । पद र सत्ताको लागि असंवैधानिक पद्धती र अपाच्य दृष्यहरु थोपर्ने पद जोगाउने व्यक्ति म होइन । न त पदकै लागि वैचारिक आस्था बम्बैको कोठीमा बिक्री गर्ने व्यक्ति हुँ । म मार्क्सवाद, लेनिनवाद र माओ विचारधारामा अटल विश्वास राख्ने एक निष्ठावान पहरेदार नागरिक हुँ । श्रमजीवि सर्वहारावर्गको इमान्दार साथी हुँ र वर्ग संघर्षमा जीवन समर्पित गर्ने योद्धा कार्यकर्ता पनि हुँ ।

राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभीमान माथी बारम्बार हस्तक्षेप र अतिक्रमण गर्ने भारतीय विस्तारवाद र स्रमाज्यवादविरुद्धको संघर्षहरु पञ्चायतकालदेखि गणतन्त्रकालसम्म राष्ट्रघाती र असमानसन्धि सम्झौता विरुद्धको संघर्षहरुमा मैले कुनै प्रकारका षडयन्त्र र गद्धारी गरेको छैन । नत अरबौं कमिशन र भ्रष्टाचारमा डुबेको छु । बरु म मन्त्री हुँदा घुस खुवाउन खोज्ने डिजीलाई पदबाट बर्खास्त गरेको जिउँदो उदाहरण छ मसँग । भ्रष्टाचार र कमिशनहरुको खेलमा दंगदंगी बनाउने आरोप लाग्दा पनि भ्रष्टाचार शून्यमा झार्छु भन्ने ढोंगी व्यक्ति पनि होइन म, बरु बैदेशिक हस्तक्षेप सन्धि सम्झौता र भ्रष्टचारविरुद्धका संघर्षहरुमा चार वर्षजति जेलयातना र हजारौं पटक गिरफ्तार र हिरासतमा थुनिएको व्यक्ति हुँ ।

संघर्षको दौरानमा तत्कालीन सरकारको तानाशाही दमनबाट मेरो खुट्टा, हात, करङ र ढाड फुटेको छ भने गर्धन दुई टुक्रा हुँदा र पटक पटक कैयौं दिनसम्म बेहोस हुँदा पनि बैचारिक आस्थामा विचलन नभएको व्यक्ति हुँ । स्मरण रहोस् कमरेड मदन भण्डारीको सुनियोजित हत्याको विरुद्ध संयुक्त आन्दोलन गर्दा प्रहरी दमनबाट मेरो गर्धन दुई टुक्रा भयो भने सत्र दिनपछि होसमा आएको थिएँ । आज देश कोभिडबाट आतंकित र आक्रान्त बनेको छ । दैनिक मृत्युदर बढिरहेको छ, यस्तो अवस्थामा सम्पूर्ण राजनीतिक दलहरुको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जीउधनको रक्षा गर्नुपर्ने अहम बेलामा पार्टी–पार्टी बीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाइएको छ ।

एकपटक सबैले निधार खुम्चाएर सोचौं, दैनिक सयौंको खुन बगिरहेको अवस्थाबाट घोर निरंकुश प्रतिगमनका विरुद्धका संघर्षमा तात्कालीन आन्दोलनकारी पार्टीहरुको बीचको सहकार्य र समझदारीबाटै सामन्तवादी सत्ताको अन्त्य र गणतन्त्र स्थापना गर्न सफल हुन सकेको हो । यस पदमा आएपछि मैले संवैधानिक मर्यादालाई पूर्णपालना गरेको थिए ।

कुनै पनि पार्टी विशेषको प्रभाव र छायामा काम गरिनँ । सरकारले जे प्रस्ताव ल्यायो त्यसलाई संवैधानिक नियम अनुसार निर्णय गर्ने गरेर माननीय सांसदहरुबाट जे–जे प्रस्ताव आए त्यसलाई पनि संवैधानिक नियम बमोजिम नै निर्णयार्थ सम्पादन गरेको थिए । यसबाट कसैको लागि अप्रिय भएको भए त्यो संविधान हेरेर चित्त बुझाउन अनुरोध गर्दछु ।

अन्तमा, लोकतन्त्र संघीयता धरापमा नपरोस् यसका लागि पक्षधरताहरु बीचको सहकार्य र एकतामा अघि बढौं मेरो हार्दिक अपील छ ।

अमिक शेरचन
२०७८–०१–२१

प्रतिक्रिया दिनुहोस