लुम्बिनी प्रदेशमा भुँईचालो, ओली क्याम्पका ३ जना प्रदेशसभा सदस्यले छोडे शंकर पोखरेलको साथ

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, १७ : १६
लुम्बिनी प्रदेशमा भुँईचालो, ओली क्याम्पका ३ जना प्रदेशसभा सदस्यले छोडे शंकर पोखरेलको साथ

काठमाडौं । ओली क्याम्पका ३ जना प्रदेशसभा सदस्यले राजीनामा दिएपछि लुम्बिनी प्रदेशमा भुँईचालो आएको छ । एमाले संसदीय दलका नेता शंकर पोखरेल मुख्यमन्त्रीमा पुन: नियुक्ति भएको केहीबेरमै  प्रदेशमा ३ जना  सदस्यले राजीनामा दिएका हुन् । राजीनामा दिने सदस्यमा नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद दीर्घनारायण पाण्डे (कपिलवस्तु)  रहेका छन्  । 

कपिलवस्तु २ (क)बाट निर्वाचित पाण्डेले भर्खरै सभामुखसमक्ष राजीनामा बुझाएका हुन् । त्यस्तै, एमालेकै धर्मबहादुरलाल श्रीवास्तव (कपिलवस्तु) र अजय शाही (पश्चिम नवलपरासी) ले  एमाले छाडी मुख्यमन्त्री बिरोधी क्याम्पमा हस्ताक्षर गरेको बताइएको छ ।

यी तीनै जना हालका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र बृजेशकुमार गुप्ताको नेतृत्वमा एमालेको सूर्य चिन्हअन्तर्गत बिजयी भएका थिए । केन्द्रमा मन्त्री रहँदारहँदै हृदयेश किन प्रधानमन्त्री केपी ओलीसङ्ग बिच्किए बुझ्न सकिएको छैन । सम्भवत उनी नयाँ पार्टी गठन गर्ने तयारीमा छन् ।

आजै बिहान एमाले सांसद विमला ओलीले एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् ।