कञ्चनपुरमा तिनजना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, ११ : १९
कञ्चनपुरमा तिनजना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर । दोश्रो चरणको कोरोना कहर शुरु भएसंगै देशभरिनै संक्रमणसंगै मृत्यु हुने दर पनि ह्वात्तै बढेकोछ । कोरोनाकै कारण महेन्द्रनगरस्थित महाकाली अस्पतालमा तीनजनाले ज्यान गुमाएका छन् ।

अस्पतालका अनुसार बुधबार राति २ जना र बिहीबार बिहान १ जनाको मृत्यु भएको हो । कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न डा. गोविन्द रोकायाका अनुसार बुधबार राति दोधारा चाँदनी नगरपालिका १ का ३० वर्षीय पुरुष र भीमदत्त नगरपालिका १९ का २१ वर्षीय पुरुषको मृत्यु भएको हो । यसैगरि भीमदत्त नगरपालिका १८ का ३६ वर्षीय महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।

दोधाराका ३० वर्षीय पुरुष केही दिनअघि भारतबाट फर्केका हुन् । गड्डाचौकीमा एण्टिजीन परीक्षणमा पोजेटिभ आएपछि उनी होम आईसोलेसनमा बसेका थिए । बुधबार श्वास–प्रश्वासमा समस्या देखिएपछि महाकाली अस्पतालको आईसीयुमा भर्ना भएका थिए ।

अर्का पुरुष रक्तक्यान्सरका बिरामी हुन् । बुधबार रगत चढाउन आएका उनलाई संक्रमण देखिएपछि आईसीयुमा राखेर उपचार भइरहेको थियो ।
बिहीबार बिहान मृत्यु भएकी महिला वैशाख ११ मा अस्पताल भर्ना भएकी थिइन् । उनलाई पनि बुधबारदेखि श्वास प्रश्वासमा समस्या देखिएको हो । अहिले महाकाली अस्पतालमा ६० जना संक्रमितको उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस