मन्त्रिपरिषद्को बैठक : परीक्षा स्थगित गर्ने , सिफारिस परिमार्जनसहित पारित

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, २० : ४०
मन्त्रिपरिषद्को बैठक : परीक्षा स्थगित गर्ने , सिफारिस परिमार्जनसहित पारित

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

 सोमबार साँझ पाँच बजे बस्ने भनिएको बैठक एक घण्टा ढिलो गरी बसेको थियो । आजको मन्त्रिपरिषद बैठक कोरोना रोकथाम तथा नियन्त्रणका सन्दर्भमा केन्द्रित थियो ।

त्यस्तै, सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।

पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा लगाउनुपर्ने सीसीएमसीको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको अर्का एक मन्त्रीले जानकारी दिए ।

उपत्यकामा लकडाउनः यातायातबारे
काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि २२ गतेसम्म लकडाउन जारी गरिएसँगै सार्वजनिक यातायातका साधन पनि बन्द हुने भएका छन् । यस्तै निजी सवारी साधन पनि सञ्चालन हुन पाउने छैनन् । 

तर अत्यावश्यक सामग्ी बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन भने सञ्चालनमा आउने छन् । 

यस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेशन, फोहोरमैला व्यवस्थापनका गाडी सञ्चालनमा आउनेछन् भने सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाकको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको अनुमति पास देखाएर सञ्चालन गर्न पाइनेछ ।

 यस्तै विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र दुवानीका सवारीसाधन पनि सञ्चालन हुने पाउनेछन् भने विदेश जाने यात्रुहरुको हकमा सहजीकरण हुनेछ । 
यस्तै अस्पताल आउने जाने बिरामी, कुरुवा र मृत्यु संस्कारमा सहभागी हुनुपर्नेको हकमा सवारीसाधानको प्रयोग गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीले अनुमति दिनुपर्नेछ । यस्तै सञ्चारकर्मीले सूचना विभागको पास देखाएर सवारीसाधन सञ्चालन गर्न सक्नेछन् । 

विवाह–ब्रतबन्धमा १५ 
काठमाडौं उपत्यकामा वैशाख १६ देखि २२ गतेसम्म कोरोना रोकथामको नाममा स्थानीय प्रशासनबाट आदेश जारी भएपछि सबै प्रकारका सभा सम्मेलन गर्न रोक लगाइएको छ । यस्तै गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, सैलुन, ब्यूटी पार्लर सञ्चालनमा रोक लगाइएको छ । 

यस्तै जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, चिडियाखाना आदि पनि सञ्चालनमा रोक लगाइएको छ भने यो बीचमा कसैको विवाह ब्रतबन्ध भए १५ जनामा त्रै उपस्थिति हुनुपर्ने छ भने यसरी उपस्थित हुँदा पनि जिल्ला प्रशासन कार्यालयको अनुमति आवश्यक पर्नेछ । 

सबै सार्वजनिक सेवा स्थगित
काठमाडौं उपत्यका प्रवेश गर्नेहरु अनिवार्य रुपमा होम आइसोलेशन वा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । सोमबार उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको आदेशमा ‘काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेशनमा बस्नुपर्ने बस्नुपर्ने’ भनिएको छ । 

यस्तै अत्यावश्यकबाहेकका अन्य सार्वजनिक सेवा हाललाई स्थगित गरिएको पनि प्रशासनले सोमबार साँझ जारी गरेको आदेशमा भनिएको छ । 
आदेशमा वैशाख १६ देखि २२ गतेसम्म यातायात बन्द गर्नेलगायतका विषय उल्लेख भएका छन् ।