सुदूरपश्चिममा समानान्तर कमिटी घोषणा गर्दै नेपाल समुहका नेता भीम रावल

सफल खबर संवाददाता

मंगलबार, २४ चैत्र २०७७, १० : २०
सुदूरपश्चिममा समानान्तर कमिटी घोषणा गर्दै नेपाल समुहका नेता भीम रावल

कैलाली । नेकपा एमालेको माधव नेपाल समूहले सुदूरपश्चिम प्रदेशमा समानान्तर कमिटी बनाउने भएको छ । सोमबारदेखि धनगढीमा सुरु भएको प्रदेशस्तरीय बिस्तारिक बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको हो । समानान्तर कमिटी नेपाल पक्षिय नेताभीम रावलको नेतृत्वमा सोमबारदेखि प्रदेश पार्टी कार्यालयमा बैठक सुरु भएको छ ।

सोमबार बैठक नसकिएपछि मंगलवार पनि जारी रहने भनिएको छ । मङ्गलवार कमिटी बिस्तार गर्ने निर्णय गर्दै बैठक सकिने बैठकमा सहभागी एक नेताले बताए । ‘सर्वोच्च अदालतले पूर्ववत् अवस्थामा फर्किन भनेपछि हामीले जेठ २ अघिका कमिटीहरूलाई सक्रिय बनाउँदै लैजाने तयारी गरेका छौँ’ रावलले भनेका छन् ‘त्यो बेलामा रहनु भएका पदाधिकारीहरू अहिले नभए नयाँले जिम्मेवारी पाउनु हुन्छ ।’

९ वटै जिल्लामा जिल्ला बैठक राखी कमिटीहरू तयार गर्न निर्देशन जारी हुने समेत उनले स्पष्ट पारे । सोमबार एमाले माधव समूहका जिल्ला अध्यक्षहरूले पछिल्लो बस्तुस्थितिबारे जानकारी गराएका थिए । एमाले पूर्ववत् अवस्थामा फर्किसकेपछि देखिएको अन्तर्विरोध अन्त्य गर्न समेत उनीहरूले नेतृत्वलाई सुझाव दिए । केही दिनअघि एमालेले माधव समूह रहेका जिल्लाका पदाधिकारीहरूलाई हटाएर उक्त स्थानमा संस्थापन पक्षकाहरुले जिम्मेवारी पाएका थिए ।

जिल्लामा जिम्मेवारीविहीन भएका अध्यक्षहरूले उक्त निर्णय नमान्ने बताए । नेता रावलले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र ओली समूहले गरेको एकपक्षीय निर्णयहरू कार्यान्वयन नहुने बताएका थिए । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले नेता रावललाई ६ महिनाको लागि निलम्बन गरेका छन् । नेकपा एकताअघि एमालेको सुदूरपश्चिम इन्चार्ज समेत रहेका रावललाई हटाएर साबिक नेकपामै हुँदा लेखराज भट्टलाई सो जिम्मेवारी दिइएको थियो ।