सुदूरपश्चिमका पालिका तहका रिक्त यी ६ पदमा उपनिर्वाचन हुँदै

रासस

शुक्रबार, १६ कार्तिक २०८१, १५ : १०
सुदूरपश्चिमका पालिका तहका रिक्त यी ६ पदमा उपनिर्वाचन हुँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका रिक्त रहेका पालिका तहका छ पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।  रिक्त रहेको बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका उपाध्यक्ष र कैलाली जिल्ला समन्वय समितिका संयोजकको उपनिर्वाचनद्वारा पदपूर्ति गरिँदै छ । 

पछिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित स्वामीकात्तिकखापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशी र कैलाली जिल्ला समन्वय समितिका संयोजक पदमबहादुर कलेलको निधन भएको थियो । 

यसैगरी रिक्त रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका-६, डोटीको पूर्वीचौकी गाउँपालिका-६, बझाङको सुर्मा गाउँपालिका-४ र दार्चुलाको दुहु गाउँपालिका-५को वडाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुन लागेको प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमदत्त भट्टले जानकारी दिए । 

डोटीको पूर्वीचौकी-६ र कञ्चनपुरको भीमदत्त-६ मा पनि काँग्रेसबाट निर्वाचित वडाध्यक्षको निधन भएको थियो । बझाङको सुर्मा-४ र दार्चुलाको दुहु-५मा नेकपा (एमाले)बाट निर्वाचित वडा अध्यक्षको निधन भएको थियो ।

उपनिर्वाचनका लागि यही कात्तिक २० गते सम्बन्धित पालिका तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न लागिएको छ । भट्टले भने, “वडा तहको उपनिर्वाचनमा सम्बन्धित वडामै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी त्यहीँ मत परिणामसमेत घोषणा गर्ने गरी तयारी भइरहेको छ ।”

सुदूरपश्चिम प्रदेशसहित देशभर रिक्त रहेका पालिका तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्षको मङ्सिरमा उपनिर्वाचन हुन लागेको हो । स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम यसरी रिक्त रहेका पदहरूको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकेर उपनिर्वाचनद्धारा रिक्त पदको पूर्ति गर्नुपर्ने व्यवस्था छ ।

यसैबीच रिक्त रहेको कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेसले केशवराज पन्तलाई प्रत्याशी बनाउने भएको छ । काँग्रेस प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले धनगढी उपमहानगरपालिका–२ को वडा सदस्य पदमा निर्वाचित पन्तलाई कैलाली जिल्ला समितिको संयोजक पदमा प्रदेश संसदीय समितिले प्रत्याशी बनाउने निर्णय गरेको जानकारी दिए । 

यस्तै स्वामीकात्तिकखापर गाउँपालिका उपाध्यक्षमा कुन्तिसरा शाहीलाई प्रत्याशी बनाउने निर्णय सो पार्टीले गरेको छ । रिक्त भीमदत्त-६को वडाध्यक्षमा प्रकाशबहादुर चन्द र डोटीको पूर्वीचौकी-६मा मोहन थापालाई प्रत्याशी बनाउने निर्णय पार्टीले गरिसकेको अन्य ठाउँको उपनिर्वाचनका प्रत्याशीको निर्णय हुन बाँकी रहेको रावतले जानकारी दिए । 

भीमदत्त-६ मा नेकपा (एमाले)ले बहादुर चन्दलाई अध्यक्षको प्रत्याशी बनाउन लागेको छ । नेकपा (एमाले) प्रदेश कमिटी सचिव रणबहादुर चन्दले गापा उपाध्यक्ष, जिल्ला समन्वय समिति संयोजक पदमा कसलाई प्रत्याशी बनाउने भन्नेबारेमा प्रदेश कमिटीले आज निर्णय गर्न लागेको बताए । अन्य दलले पनि उपनिर्वाचनमा उठाउने प्रत्याशीका बारेमा निर्णय गर्न बाँकी रहेको बताइएको छ ।