सेयर बजारमा तरलता अभाव हुने त्रास

सफल खबर संवाददाता

बुधबार, १९ फागुन २०७७, ११ : ५८
सेयर बजारमा तरलता अभाव हुने त्रास

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले विगत ४–५ वर्षदेखि लगानीयोग्य रकम तरलता को निकै ठूलो समस्या झेले । लगानी योग्य रकम अभाव हुँदा बैंकहरुले माग भइ आएको कर्जाको फाइल टेवलमा थन्काएर बस्न बाध्य भए ।

तर, कोरोना पछि भने अवस्था फरक रह्यो । लामो समय भएको लकडाउनका कारण व्यापार व्यवसायहरु ठप्प रहे । त्यसपछि कर्जाको माग सुस्तायो र बैंकमा तरलता थुप्रियो । अहिले भने पुनः तरलता अभाव हुने त्रास सेयर बजारका लगानीकर्ताहरुमा देखिएको छ ।

कोरोनापछि अन्य क्षेत्र सुस्त हुँदा सेयर बजारमा उत्साह छाएको थियो, बजारमा उत्साह आउनुको मूख्य कारण भने तरलता र ब्याजदर नै हो’ सेयर विश्लेषक हरिकुमार कार्की भन्छन्, ‘त्यो उत्साह अहिले पनि कायमै छ, केहि दिन घट्दा कतै समस्या होला कि भन्ने आशंका गरिएको छ ।’

तर, अहिले नै तरलता घट्ने र ब्याजदर बढ्ने सम्भावना नरहेको उनी बताउँछन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी निकै बढेको छ । नेपाल बैंकर्स संघका अनुसार फागुनको दुई सातामै ४५ अर्ब रुपैयाँले वाणिज्य बैंकहरुले कर्जा लगानी विस्तार गरेका छन् ।

गत माघ मसान्तसम्म वाणिज्य बैंकहरुको कर्जा लगानी ३३ खर्ब १७ अर्ब रुपैयाँ रहेको थियो । ७ फागुनसम्म बैंकहरुको कर्जा लगानी १८ अर्ब रुपैयाँले बढेर ३३ खर्ब ३५ अर्ब रुपैयाँ पुग्यो ।

१४ फागुनसम्म आइपुग्दा भने ३० माघको तुलनामा ४५ अर्ब रुपैयाँले कर्जा लगानी बढेर ३३ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ । कर्जा जुन अनुपातमा वृद्धि भएको छ सो अनुपातमा निक्षेप भने वृद्धि हुन सकेको छैन । संघका अनुसार दुई साताको अवधीमा निक्षेप २३ अर्ब रुपैयाँले मात्रै वृद्धि भएको छ ।

३० माघमा ३७ खर्ब ८६ अर्ब रहेको वाणिज्य बैंकहरुको निक्षेप ७ फागुनमा ३७ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको थियो । १४ फागुनमा भने २३ अर्बले बढेर ३८ खर्ब ९ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ । बैंकहरु कर्जा लगानीमा आक्रामक बनेपनि निक्षेप संकलन भने राम्रो छैन ।

तरलता पर्याप्त हुँदा बैंक ब्याजदर पनि घट्छ । कोरोनापछि तरलता अधिक हुँदा कर्जाको ब्याजदर अहिले पनि धेरैजसो एकल अंकमा नै छ । तर, यता तरलता अभाव हुँदै जाने र बैंकहरुको बेस रेट पनि बढ्न थालेपछि अप्ठेरोमा परिएला कि भन्ने लगानीकर्ताहरुमा त्रास छ ।

 

प्रतिक्रिया दिनुहोस