राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पर्ने प्रदेशका चार नयाँ खेलाडी

सफल खबर संवाददाता

शुक्रबार, २३ माघ २०७७, १३ : ०९
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पर्ने प्रदेशका चार नयाँ खेलाडी

काठमाडौं । नेपाल क्रिकेट संघ क्यान ले आगामी महिना ओमान हुने नेपाल, अमेरिका र ओमानबीचको एकदिवसीय सिरिजका लागि प्रारम्भिक टिममा ३२ खेलाडी समावेश गरेको छ।

आइसिसी विश्वकप लिग २ अन्तर्गत हुने सिरिजका लागि शनिबारदेखि प्रशिक्षण सुरु हुनेछ। जसमा २१ जना खेलाडी सहभागी हुनेछन्। कप्तान ज्ञानेन्द्र मल्लसहितका बाँकी १२ खेलाडी भने दोस्रो चरणको बन्द प्रशिक्षणदेखि सहभागी हुनेछन्।

पहिलो चरणको प्रशिक्षणका लागि क्यानले गत साता सकिएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका आधारमा खेलाडी छनोट गरेको हो।
जसमा चार जना प्रदेशका प्रतिभावान युवा खेलाडीले पहिलो पटक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा स्थान बनाएका छन।

विवेक यादव

सप्तरीका यादवले प्रदेश २ बाट दोस्रो पटक प्रधानमन्त्री कप खेलेका हुन्। नेपालको यु १९ टिमबाट खेलिसकेका यावदले यो सिजनको कपमा दुई अर्धशतक प्रहार गरे।उनले लुम्बिनीविरुद्धको खेलमा ५१ रन प्रहार गर्दा बागमतीविरुद्ध ६६ रन जोडेका थिए। यस्तै सूदूरपश्चिमविरुद्ध उनले ४१ रन बनाए भने पुलिसविरुद्ध ९ रनमा आउट भएका थिए।

खडक बोहरा

बैतडीका खडक बोहारा पनि नेपालको यु१९ राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी हुन्।सूदूपश्चिमबाट दोस्रो पटक प्रधानमन्त्री कप खेलेका उनी राम्रो ब्याटिङ गर्न सक्ने खुबी भएका खेलाडीमा गनिन्छन्।

यो सिजनको प्रधानमन्त्री कपमा उनले कुनै अर्धशतक त प्रहार गर्न सकेनन्। तर उनको ब्याटिङ तारिफयोग्य थियो।बागमतीविरुद्धको पहिलो खेलमा डकआउट भएका उनले नेपाल पुलिस क्लबविरुद्ध ४० रन प्रहार गरे। यस्तै उनले प्रदेश २ विरुद्धको खेलमा ४३ रन जोडेका थिए।

अनुज चुनारा

पहिलो पटक प्रधानमन्त्री कप खेलेका तीव्र गतिका बलर अनुजले चार खेलमा ८ विकेट लिए।उनले एपिएफ क्लबविरुद्ध ३ विकेट लिएका थिए। उनले सो खेलमा रित गौतम, शरद भेषवाकर र भुवन कार्कीलाई आउट गरेका थिए।

प्रदेश १ र गण्डकीविरद्ध २/२ विकेट हात पार्दा आर्मीविरुद्ध १ विकेट हात पारेका थिए।गत वर्ष उनले इनरुवामा भएको मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय प्रतियोगितामा पनि कर्णालीबाट खेलेका थिए।

अर्जुन कुमाल

१५ वर्षीय कुमालले पहिलो पटक प्रधामन्त्री कप खेलेका हुन्। भारतमै हुर्किएर उतै क्रिकेट खेलिरहेका कुमाल प्रधानमन्त्री कपका लागि नेपाल आएका थिए।पुर्ख्यौली घर गुल्मी भएका उनले यस पटकको प्रधानमन्त्री कपमा गण्डकी प्रदेशबाट खेल्दै सुरुवाती तीन खेलमा राम्रो ब्याटिङ गरे।


उनले आर्मीविरुद्धको पहिलो खेलमा ३६ रन हिर्काउँदा प्रदेश १ विरुद्ध ३५ रन जोडे। कर्णालीविरुद्ध ४६ रन जोडेका उनी एपिएफविरुद्धको अन्तिम खेलमा भने डकआउट भएका थिए।सानै उमेरमा नेपाली क्रिकेटमा राम्रो छाप छाडेका उनले नेपालको यु १६ राष्ट्रिय टिमबाट पनि खेलेका थिए।

प्रतिक्रिया दिनुहोस