प्रचण्ड –माधव समुहका केन्द्रीय सदस्य जंगलमा मृत अवस्थामा भेटिए, घटना शंकास्पद

सफल खबर संवाददाता

विहीबार, २२ माघ २०७७, ०७ : ३५
प्रचण्ड –माधव समुहका केन्द्रीय सदस्य जंगलमा मृत अवस्थामा भेटिए, घटना शंकास्पद

काठमाडौं । नेकपाको प्रचण्ड माधव नेपाल समुहका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको निधन भएको छ ।

सर्लाहीको बरहथवा नगरपालिका– ९ मुर्तिया जंगलमा वाग्लेको शव वुधबार राती ९ वजे फेला परेको प्रहरीले जनाएको छ । स्थानिय सामान्तहरुले गरिव मुठिभर मानिसहरुमाथी गरेको ज्यादती र जाली कामको विरोधमा खरो रुपमा उत्रिदै आएका वाग्लेको निधन शंकास्पद देखिएको छ ।

तर प्रहरीले सवारी दुर्घटनामा वाग्लेको मृत्यु भएको जनाएको छ । इलाका प्रहरी कार्यालय वरहथवाका प्रमुख डिएसपी उद्धबसिंह भाटले वाग्लेको सडक दुर्घटनामा मृत्यु भएको बताएका छन् ।

वाग्लेको आँखाको छेउमा सामान्य निलडाम जस्तो देखिए पनि शरीरका अन्य भागमा कुनै चोटपटक नदेखिएको डिएसपी भाटले बताए ।

‘वाग्ले सवार ज १० प ३२०६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको अवस्थामा शव फेला परेको हो,’ डिएसपी भाटले भने, ‘हेल्मेट टाउकैमा थियो । हामीले घटनास्थलबाट उठाएर बरहथवा अस्पताल पुराएका थियौं, तर डाक्टरले मृत्यु भइसकेको घोषणा गर्नुभयो ।’

आजको नेपाल वन्दको कार्यक्रम सफल वनाउन हिजो साझ गरिएको मशाल जुलुसको कार्यक्रममा सहभागी भएर फर्किदै गर्दा घटना भएको सर्लाही सचिव कमल वुढाथोकीले जनाएका छन् ।

तर नेकपाले यो घटना रहस्यमय भएको वताएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले वाग्लेको निधन रहस्यमय भएको र शंकास्पद देखिएको प्रतिक्रिया दिएका छन् ।  ‘यो सवारी दुर्घटना मात्रै होइन भन्ने हामीलाई लागेको छ । घटना शंकास्पद छ,’ उनले भनेका छन् ।

बुधबार दिउँसो बरहथवामा पार्टीको जिल्ला कमिटीको पूर्ण बैठकमा वाग्ले सहभागि भएका थिए । पार्टीले नै बुधबार साँझ आयोजना गरेको मसाल जुलुसको नेतृत्व गर्न वाग्ले बरहथवामा बसेका थिए । अहिले उनको शव अस्पतालमै छ ।  उनी विद्यार्थी संगठनको पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् ।  वाग्लेका श्रीमती र दुई छोरा छन् । सर्लाहीको हरिपुर नगरपालिका– १ हजारबिघा घर भएका वाग्ले परिवारसहित महोत्तरीको बर्दिबास बस्दै आएका थिए ।

पछिल्लो समय उनले तराई क्षेत्रमा स्थानिय सामान्तहरुले जाली तमासुकको आधारमा गरिव भूमिहिन किासनहरुको घरवास उठिवास लगाउने कार्यको शक्त विरोधमा नेतृत्वदायी भूमिका खेल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस