कार्यपालिकालाई संसदले कहिल्यै असहयोग गरेन  - सभामुख

सफल खबर संवाददाता

सोमबार, १२ माघ २०७७, १५ : ००
कार्यपालिकालाई संसदले कहिल्यै असहयोग गरेन  - सभामुख

 काठमाडौं । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई कहिले असहयोग नगरेको दाबी गरेका छन् ।

प्रतिनिधिसभा भंग गरेर मध्यावधि घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय संसदले आफूलाई सहयोग नगरेको दाबी गर्दै आएका छन् ।

सभामुख सापकोटाले भने त्यो आरोप अस्वीकार गरे । सोमबार अन्तरपार्टी महिला सञ्जालको ध्यानाकर्षण पत्र बुझ्दै सभामुखले वर्षे अधिवेशनले नेपालको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सर्वसम्मत रुपमा संविधान संशोधन गरेको स्मरण गरे । संसदमा अभुतपूर्व एकता देखिएको भन्दै उनले भने, ‘कुनै दिन पनि न त्यहाँ नारा लाग्यो, न वेल घेर्ने काम भयो ।’

‘सहयोग भएन, त्यहाँ अलिकति अराजकता भयो भन्ने जो कुरा आइरहेको छ त्यो सत्यमा आधारित छैन,’ उनले अघि भने, ‘चाहे नीति कार्यक्रम पास गर्ने कुरामा होस्, चाहे बजेट पास गर्ने कुरा होस् । हरेकमा प्रतिनिधि सभाले सहयोग नै गरेको छ, कार्यपालिकालाई कहिले पनि असहयोग गरेको छैन ।’

उनले प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने अन्तर पार्टी महिला सञ्जालको मागप्रति आफू गम्भीर रहेको पनि बताए ।

सञ्जालले जस्तै संविधानविद्, कानुनविद्, राजनीतिक पार्टीका नेताहरु सबैले संसद सुचारु हुनुपर्छ भन्ने आवाज उठाइरहेको भन्दै उनले अघि भने, ‘मैले परिस्थितिलाई धेरै गम्भीरतापूर्वक, जिम्मेवारीपूर्वक अध्ययन, विश्लेषण गरिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस