सकियो दुई देशीय पर्यटन प्रवर्द्धन गोष्ठी

दुबै देशमा पर्यटक वृद्धिका लागि काम गर्ने साझा निष्कर्ष

आइतबार, ०४ चैत्र २०७४, १५ : ४८
दुबै देशमा पर्यटक वृद्धिका लागि काम गर्ने साझा निष्कर्ष

चितवन । गत शुक्रबार नारायणगढमा सुरु भएको द्विदेशीय पर्यटन प्रवद्र्धन गोष्ठी नेपाल र भारतका विभिन्न ठाउँमा पर्यटक वृद्धिका लागि काम गर्ने साझा निष्कर्ष निकाल्दै आज सकिएको छ ।

भरतपुर महानगरपालिका र भारतीय महावाणिज्य दूतावास वीरगञ्जको संयुक्त आयोजनामा सम्पन्न तीनदिने गोष्ठीमा नेपाल र भारतका पर्यटन व्यवसायी, सञ्चारकर्मी एवम् महावाणिज्य दूतावासका कर्मचारी सहभागी थिए । गोष्ठीका सहभागीले धेरै रकम खर्च गर्नसक्ने धनाढ्य पर्यटकलाईमात्र आकर्षित गर्ने परिपाटीले समग्र पर्यटनको विकास हुन नसकेको बताए । मध्यम वर्गाीय परिवारका व्यक्तिलाई समेत लक्षित गरेर पर्यटनको अवसर दिन सकेमा पर्यटकको संख्या वृद्धि हुने र त्यसले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने उनीहरुको भनाइ थियो ।

गोष्ठीको अन्तिम दिन आइतबार भरतपुरमा आयोजित बिजनेस टु बिजनेस मिटिङ उद्घाटन समारोहलाई सम्बोधन गर्दै समारोहका प्रमुख अतिथि प्रदेश नम्बर तीनका मन्त्री दावा लामाले सबै प्रकारका वन क्षेत्रको संरक्षण गरी पर्यटनको माध्यमबाट देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन मद्दत मिल्ने बताउनु भयो । उहाँले पर्यटनलाई धेरै सम्भावना भएको क्षेत्र बताउँदै अहिलेको सरकार पाँच वर्षको लागि स्थिर सरकार भएकोले यो सरकारको अवधिमा पर्यटन क्षेत्रमा उल्लेख्य काम गर्न सकिने सम्भावना व्यक्त गर्नुभयो ।

प्रदेश सांसद कृष्ण भूर्तेलले प्रकृतिको खातामा केही जम्मा नगरिकनै खुरुखुरु निकाल्न पाउने गरी प्रकृतिले हामीलाई धनी बनाएको बताउनुु भयो । उहाँले कृषि पर्यटनमा जोड दिँदै नारायणीमा जलयात्राको सम्भावना औंल्याउनु भयो । प्रदेश सांसद कञ्चन खनालले पर्यटनमा एउटै वस्तुलाई पटकपटक बेचेर फाइदा लिन सकिने भएकोले पर्यटनबाटै आर्थिक विकासमा टेवा पुग्ने बताउनु भयो ।

भारतीय महावाणिज्यदूत बीसी प्रधानले तीन दिनसम्मको कार्यक्रमका विविध गतिविधिले पर्यटन प्रवद्र्धनको काम गर्न उत्साह थपेको प्रतिक्रिया दिनुभयो । उहाँले नेपालमा अब राजनीतिक स्थितरतासँग विकासका कामहरु हुने विश्वास व्यक्त गर्दै पर्यटनको क्षेत्रमा समेत सहयोग पु¥याउने अपेक्षा गर्नुभयो । कार्यक्रम भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उद्घाटन गर्नु भएको गोष्ठीको पहिलो दिन नेपाल र भारतका तर्फबाट पर्यटनबारे प्रस्तुति र छलफल भएको थियो । गोष्ठीको दोस्रो दिन हिजो शनिबार सहभागीहरुले सौराहामा हात्तीसफारी, चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी र राप्ती नदीमा डुंगा शयर गरेका थिए । आज आइतबार भरतपुरमा बिजनेस टु बिजनेस मिटिङ सकेर सहभागीहरु फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस