टोटनहम लिगकपको फाइनलमा

एजेन्सी

बुधबार, २२ पुस २०७७, ०८ : २३
टोटनहम लिगकपको फाइनलमा

लन्डन । टोटनहमले लिगकपको फाइनल यात्रा तय गरेको छ । मंगलबार दोस्रो डिभिजनको क्लब ब्रेन्टफोर्डलाई २–० ले हराउदैं फाइनलमा प्रवेश गरेको हो । टोटनहममा मोउसा सिसोको र सन ह्युङ–मिनले गोल गरे ।

अब अप्रिलमा हुने फाइनलमा टोटनहमको सामना म्यानचेस्टर युनाइटेड अथवा म्यानचेस्टर सिटीबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग हुनेछ । लन्डन क्लब ब्रेन्टफोर्ड ठूलो प्रतियोगिताको सेमिफाइनल पहिलो पल्ट लिगकप खेलिरहेको थियो । फ्रान्सेली मिडफिल्डर सिसोकोले १२ औं मिनेटमा टोटनहमका लागि पहिलो गोल गरे । जोसे मोउरिन्होको टिमका लागि लयमा रहेका दक्षिण कोरियाली खेलाडी ह्युङ–मिन ७० औं मिनेटमा दोस्रो गोल थपे ।

टोटनहमले लिगकप चार पल्ट जितिसकेको छ, तर सन् २००८ को यही प्रतियोगिताको फाइनलमा चेल्सीलाई हराएयता कुनै ठूलो उपाधि जित्न सकेको छैन । फाइनल वेम्बलीमा अप्रिल २५ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस