चितवन । भरतपुर महानगरपालिका र भारतीय महावाणिज्य दूतावास वीरगञ्जले शुक्रबार नारायणगढमा संयुक्तरुपमा नेपाल भारत द्विपक्षीय पर्यटन प्रवद्र्धन गोष्ठी आयोजना गर्दैछन् । नेपाल र भारतका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न गोष्ठी आयोजना गरिएको आयोजकको भनाइ रहेको छ ।
‘नेपाल र भारतबीच रहेका प्राकृतिक, साँस्कृतिक, धार्मिक, कृषि तथा स्वास्थ्यसँग सम्बन्धित पर्यटन क्षेत्रलाई संयुक्त प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो’ भरतपुर महानगर प्रमुख रेनु दाहालले भन्नुभयो, ‘स्थानीय सरकार भरतपुर महानगरपालिका र भारतमा रहेका आवश्यक निकायबीच पर्यटनको विकासका लागि आपसी समझदारी र सहयोग स्थापित गर्ने पनि हाम्रो उद्देश्य रहेको छ ।’
कार्यक्रमले पर्यटन क्षेत्रमा भौतिक पूर्वाधारका लागि लगानी वृद्धि गर्न आवश्यक वातावरण सिर्जना गर्ने बताउँदै उहाँले भन्नुभयो, ‘दुई देशबीच पर्यटन प्रवद्र्धन गर्न आवश्यक नीति तथा रणनीति पहिचान गरी कार्यान्वयनमा लैजान यो गोष्ठीले सहयोग पु¥याउने हाम्रो अपेक्षा छ । गोष्ठीको उद्देश्य प्राप्तिका लागि सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार द्विदेशीय पर्यटन प्रवद्र्धन समिति निर्माण हुन सकेमा यो गोष्ठी सफल हुनेछ ।’
पर्यटनको विकाससँगै प्राकृतिक, साँस्कृतिक, सामाजिक र धार्मिक क्षेत्रका अमूल्य सम्पदाको संरक्षणसँगै उपयोगको विषयमा नीति निर्माणको आवश्यकता औंल्याउँदै उहाँले यस गोष्ठीबाट दुई देशका पर्यटनसँग सम्बन्धित व्यक्ति, समूह, संस्था, व्यवसायी र निकायसँग राम्रो सम्बन्ध बिस्तार हुने र पर्यटकीय सम्पदाहरुको उजागर हुने बताउनु भयो । नेपाल र भारतबीच साँस्कृतिक, धार्मिक र पर्यापर्यटनको विकासमा टेवा पु¥याउन द्विदेशीय संयुक्त पर्यटन प्रवद्र्धन गर्नु नै गोष्ठीको उद्देश्य रहेको उहाँको भनाइ छ ।
जनकपुरदेखि लुम्बिनीसम्मका पर्यटकीयस्थलको परिचयसहित छलफल हुने गोष्ठी उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी रहनु हुनेछ । कार्यक्रममा सांसदहरु, भारतीय महावाणिज्य दूत, वडा अध्यक्षहरु, महानगरका कर्मचारी, भारतदेखि आउने आमन्त्रित पाहुना र पर्यटन व्यवसायी सहभागी हुने बताइएको छ ।
चितवनको करिब आधा भाग आगटेको भरतपुर महानगरपालिकाभित्र पर्यटकीय स्थलका रुपमा पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम, जल पर्यटनका लागि असिम सम्भावना बोकेको नारायणी नदी, राप्ती नदी, पर्यापर्यटनको प्रचुर खानी चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रका पटिहानी, जगतपुर, मेघौली, बीसहजारी ताल, बाटुली पोखरी, रानी पोखरी, ज्ञानेश्वर ब्लक, वागीश्वरी, गणेशस्थान, हाइकिङका लागि कविलासमा रहेको चौकीडाँडा लगायतका क्षेत्र परिचित छन् ।
प्रतिक्रिया दिनुहोस