काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली बुधबारबाट पदमुक्त भएका छन् । न्याय परिषद सचवालयले पत्र काटेर पराजुली ६५ वर्ष पुगिसकेको जनाउँदै पराजुलीलाई पदमुक्त गरेको हो ।
न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई अवकाश भइसकेको जानकारी गराएको छ । सचिव नृपध्वज निरौलले हस्ताक्षर गरी पराजुलीलाई बुझाएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ । पत्रमा भनिएको छ, 'सम्माननीय महोदयको ६५ (पैसट्ठी) वर्षको उमेर २०७४।४।२१ मा नै पुरा भईसकेको देखिन आएकोले आज मिति २०७४।११।३० को सचिवस्तरिय निर्णय अनुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु।'
पत्रमा न्याय परिषद्ले पराजुलीको परिषद सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट बुधबार प्राप्त पत्रको आधारमा समेतको आधार उक्त निर्णय लिइएको उल्लेख छ। परिषद्को आजैको सचिवस्तरीय निर्णय अनुसार पराजुली पदमा नरहेको पत्रमा उल्लेख छ । पत्रको अन्त्यमा भनिएको छ, सम्माननीय महोदयले न्यायसेवामा पुर्याउनु भएको योगदानप्रति हार्दिक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना गर्दछु ।’
प्रतिक्रिया दिनुहोस