काठमाडौँ । सरकारले कोभिड–१९ संक्रमणको पहिचानका लागि एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड संक्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा परीक्षण शुरु भएको हो । गत सोमबार देखि शुरु गरिएको कार्यक्रम अन्तर्गत पहिलो चरणमा उपत्यकाका ३ हजार व्यक्तिमा एन्टिजिन परीक्षण गरिने छ ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य निरिक्षक कोशलचन्द्र सुवेदीले काठमाडौं उपत्यका भित्रका बढी संक्रमण देखिएको ६ वटा वडामा ३ हजार नमुना लिएर परीक्षण गर्न लागिएको बताए । मन्त्रालयबाट स्वीकृत भए अनुसार ५ सय भन्दा बढी संक्रमित भएका क्षेत्रहरुमा एन्टिजिन मार्फत परीक्षण गरिनेछ । जसअनुसार सक्रिय संक्रमितहरुको नजिकमा रहेकाहरुको मात्रै परीक्षण गरिनेछ । यो विधि अन्तर्गत पीसीआर परीक्षणका लागि नमुना लिए जस्तै गरी नाक वा घाँटीबाट स्वाब संकलन गरिने छ र किटमा राखेर आधा घण्टामै रिपोर्ट प्राप्त गर्न सकिने छ ।
महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)बाट प्रमाणित भइसकेकोले एन्टिजिन परीक्षणलाई विश्वसनीय मानिएको बताए । नेपालमा अहिलेसम्म कोभिड संक्रमणको पहिचान गर्न पीसीआर विधिमात्र भएको अवस्थामा कम लागत र कम समयमा एन्टिजिन परीक्षण गर्न लागिएको उनले बताए । एन्टिजिन परीक्षण गरिसकेपछि पीसीआर परीक्षण गर्न नपर्ने पनि उनले बताए ।
पछिल्लो समय उपत्यकामा संक्रमण दर बढ्दै गएको छ । यस्तो अवस्थामा एकैपटक समुदायमा परीक्षण गर्नुपर्ने अवस्थामा एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोग गरिने पनि महाशाखाको भनाई छ । एन्टिजिन परीक्षण खासगरी समूहमा बसेर काम गर्ने क्षेत्रमा प्रयोग गरिने छ । मास स्क्रिनिङ, अस्पतालमा उपचाररत विरामीहरुको तत्काल रिपोर्ट आवश्यक पर्ने अवस्थामा, सफाइकर्मी, तरकारी बजार, कारागार, विभिन्न आवस गृह, सुरक्षाकर्मीमा एन्टिजिनको प्रयोग गरी परीक्षण गरिनेछ ।
एन्टिजिन परीक्षणले शरीरमा भाइरसको जिनको अवस्थालाई पत्ता लगाई नतिजा दिन्छ । त्यसैले यसलाई पीसीआर बराबर भएको मानिएको निर्देशक पाण्डेले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०७७, १६ : १७
लेखकबाट थप