चितवन । चितवनमा पछिल्लो समय कृषिमा यन्त्रीकरणको प्रयोग बढ्दै गएको छ । यन्त्रीकरण बढेसँगै लागत घट्दा किसान लाभान्वित भएका छन् ।
कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार विशेष गरी धान रोप्न, काट्न र झाट्न यन्त्रीकरणको प्रयोग बढ्दै गएको हो । अर्काेतर्फ यस्ता यन्त्र महँगा हुने र प्रयोग कम हुने हुँदा सरकारको अधिकतम अनुदानविना कृषकले खरिद गर्न कठिन हुने गरेको छ । उनले भने, “सरकारी अनुदान नपाउनेले आफैले किनेर पनि उपकरण प्रयोग गर्न थालेका छन् ।”
यन्त्रको प्रयोग गर्दा मजदूर खर्च ६० प्रतिशत बच्ने र कूल लागतमा २५ देखि ३० प्रतिशत खर्च घट्ने उनले जानकारी दिए । बीउ राख्नका लागि सिडर, रोप्नका लागि ट्रान्सप्लान्टर, काट्नका लागि रिपर र कम्बाइन हारबेस्टर र पराल उठाउनका लागि बेलरको प्रयोग हुँदै आएको छ ।
कतिपय उपकरण गहुँ र मकैलगायत बालीमा पनि प्रयोग हुने गर्दछन् । कतिपय भने एउटा बालीमा मात्रै प्रयोग हुने गर्दछ । प्रधानमन्त्री कृषि अधुनिकीकरण परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिना अझै पनि कृषकहरुले उपकरण प्रयोग गर्दा आफूले पनि काम गर्नुपर्ने भएकाले झन्झट मानेको बताउन् । उनले पूरै काम गर्ने गरी खर्च बढी भए पनि मजदूर लगाउने गरेको बताउछन् ।
उनी भन्छन्, “यन्त्रको प्रयोग बढेको छ तर अपेक्षाकृत अझै बढ्न सकेको छैन ।” उनका अनुसार, स्थानीय पालिका, प्रदेश र सङ्घीय सरकारले उपकरणमा ५० प्रतिशत अनुदान दिँदै आएका छन् । कृषकले यो अनुदानलाई ९० प्रतिशतसम्म दिनुपर्ने माग गर्ने गरेको छन् ।
तराई ÷मधेश क्षेत्रका जिल्लामा धेरै पहिलेदेखि नै जोत्नका लागि ट्र्याक्टरको प्रयोग हुने गरेको थियो । पछिल्ला वर्षमा अन्य उपकरणसमेत प्रयोग हुन थालेको परियोजना प्रमुख तिमिल्सनाले जानकारी दिए ।
सबै कृषकलाई उपकरणका बारेमा ज्ञान नभइसकेकाले ठूला चक्लाबन्दी फर्महरुमा सामूहिकरुपमा तालीम दिन सकेमा यन्त्रीकरणको प्रयोग बढ्दै जाने उनको भनाइ छ । सानासाना जग्गा र सहज उपकरण नपाउँदा पनि कृषकले यसको उपयोग कम गरेको पाइन्छ । सरकारी अनुदान हुँदा पनि धेरै रकम आफैँले लगानी गर्नुपर्दा जति आकर्षण हुनुपर्ने हो त्यती हुन नसकेको कृषकहरु बताउँछन् ।
जिल्लामा अधिकतम उपकरण प्रयोग गर्दै आएको बृहस्पति आधुनिक कृषि फर्मका सल्लाहकार मित्रराज दवाडीले यन्त्रीकरण बढाउनका लागि सरकारको अनुदान ९० प्रतिशत हुनुपर्ने सुझाव दिन्छन् । वर्षमा एक महिना धान रोप्ने प्लान्टर खरिद गर्न रु २५ लाख खर्च हुने जनाउँदै उनले वर्षभरि नै उपकरणको प्रयोग नहुने भएकाले लागत मूल्य बढी पर्ने बताए ।
उनले धान रोप्ने, काट्ने, झाट्ने, गहुँ छर्ने र काट्ने उपकरणबाटै गर्दै आएको जानकारी दिए । जमीनलाई चक्लाबन्दी गरेर एकीकृत रुपमा यन्त्रीकरण प्रयोग गरी खेती गरेमा उत्पादन बढाउन र लागत घटाउन सकिने उनको भनाइ छ ।
अहिले नेपालमा भित्रिएका उपकरण सस्ता र कम टिकाउ हुने उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहेका दवाडीले लामो समय टिक्ने र राम्रा उपकरण भित्र्याउनुपर्ने सुझाव दिए ।
जिल्लाका पूर्व, पश्चिम र माडी क्षेत्रमा यन्त्रीकरणको प्रयोग बढ्दै गएको छ । प्रदेश सरकारले चक्लाबन्दी खेती गर्ने कृषकलाई यन्त्रीकरण र अन्य कामका लागि अनुदान दिँदै आएको छ । अनुदान पाएसँगै यन्त्रको प्रयोग बढ्दै गएको हो । पुरातन खेती प्रणालीमा लागत मूल्यसमेत नउठ्ने भएपछि युवा पुस्ता यन्त्रीकरणतर्फ आकर्षित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०९ मंसिर २०७७, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्दै मन्त्रालय
कृषिबाट आयआर्जन गर्दै दलित महिला
मकवानपुरगढीद्वारा कृषकलाई अनुदान
कृषि क्षेत्र उपेक्षित भएको महोत्तरीका मतदाताको गुनासो
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री थापा
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापतिद्वारा शपथ ग्रहण