डा. प्रकाशचन्द्र लोहनीको आरोप-‘देशमा रावणहरूको शासन छ’

सफल खबर संवाददाता

मंगलबार, २६ चैत्र २०८१, १५ : ५४
डा. प्रकाशचन्द्र लोहनीको आरोप-‘देशमा रावणहरूको शासन छ’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनीले देशमा अहिले रावणहरूको शासन रहेको आरोप लगाएका छन् ।काठमाडौँको बल्खुमा पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘नेपालमा अहिले रावणहरूको शासन भएको छ । रावण भनेको के हो ? विम्ब तपाईँको अघिल्तिर आउँछ,’ लोहनीले भने, ‘रावण भनेको अहंकार हो, अरूको चिज मेरो भन्ने घमण्ड हो । सर्वसाधारणलाई उपेक्षा गर्ने मनस्थिति हो । मैले गरेपछि जे पनि ठिक हुन्छ भन्ने हो । त्यो रावण प्रवृत्ति हो ।’

जनताको मत लिएर सरकारमा गएकाहरूमा रावण प्रवृत्ति हाबी हुँदै गएको बताउँदै यसको विरुद्धमा संघर्ष गर्ने मूल चुनौती रहेको बताए ।‘त्यो प्रवृत्ति जनताको मत लिएका राजनीतिज्ञ छन्, जनताले पठाएकाहरूको प्रवृत्ति रावण प्रवृत्ति भएर गएको छ । यो ढुकुटी भनेको मैले जे पनि गरेको छ,’ उनले भने, ‘यसको विरुद्धमा संघर्ष गर्न आजको मूल चुनौती हो । ठूला पार्टीहरू गर्ने छैनन् । उनीहरू त्यही प्रवृत्तिबाट फाइदा लिइरहेका छन् ।’

यस्ता प्रवृत्तिले नेपालको आत्मसम्मानमा, छविमा, सम्मानमा धुमिल बनाएको उनको आरोप थियो ।

 

प्रतिक्रिया दिनुहोस