चितवन । भरतपुर महानगरपालिका मातहतमा २३ वटा स्वास्थ्य संस्था, तिनमा कार्यरत एक सय २७ जना स्वास्थ्यकर्मी र दुई सय सात जना स्वास्थ्य स्वयंसेविका आएका छन् । आज आइतबार भरतपुर महानगरपालिका कार्यालयको सभाहलमा स्थानीय तहमा स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रम आयोजना गरी ती संस्था र स्वास्थ्यकर्मीलाई महानगर मातहत ल्याइएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयबाट हस्तान्तरण भई महानगरमा आएकाहरुमा वडा नम्बर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रबाट दस जना कर्मचारी र करारमा कार्यरत चार जना चिकित्सक रहेका छन् । यसैगरी १३ वटा स्वास्थ्यचौकीबाट ८६ जना, आठ वटा नगर स्वास्थ्य केन्द्रबाट २४ जना र सामुदायिक स्वास्थ्य इकाई कविलासका तीन जना कर्मचारी महानगर मातहत आएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले प्रत्येक स्वास्थ्य संस्थाको सम्पति र कर्मचारी विवरणसहितको अलगअलग फाइल एकमुष्ठ रुपमा महानगर प्रमुख रेनु दाहाललाई हस्तान्तरण गर्नुभयो । फाइल ग्रहण गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले स्थानीय तहमा स्वास्थ्य संस्था आएपछि दायित्व र जिम्मेवारी थपिएको बताउनु भयो ।
भरतपुर महानगरका २९ वडामध्ये नौ वटा वडामा स्वास्थ्यचौकी नभएको जानकारी गराउँदै महानगर प्रमुखले भदौ महिनाभित्र हस्तान्तरण हुनुपर्नेमा केही ढिला भएपनि राम्रो कामको सुरुवात भएको बताउनु भयो । उहाँले महानगरभित्र रहेका स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउन महानगर र वडाहरु जिम्मेवार ढंगले अगाडि बढ्नुपर्ने बताउनु भयो ।
स्वास्थ्य क्षेत्र जनतासँग प्रत्यक्ष सरोकार राख्ने अति संवेदनशील क्षेत्र भएको धारणा व्यक्त गर्दै महानगर प्रमुख दाहालले जनताप्रति उत्तरदायी भएर सक्रियतापूर्वक काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले कार्यक्रममा उपस्थित वडाध्यक्षहरुलाई पदीय जिम्मेवारी पूरा गर्न सक्रिय रहन सुझाव दिनुभयो ।
स्थानीय तह अन्तर्गत वडामा रहेका स्वास्थ्य संस्था व्यवस्थापन समितिको अध्यक्ष वडाध्यक्ष रहने र उपाध्यक्ष वडा अध्यक्षले तोकेको व्यक्ति रहने व्यवस्था छ । अन्य पाँच जना सदस्यमध्ये एक जना महिला सदस्य महानगर प्रमुखले तोकेको व्यक्ति रहने प्रावधान छ ।
वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले अब महानगरभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाको जिम्मेवारी र नेतृत्व महानगरपालिकाले लिनुपर्ने बताउनु भयो । उहाँले स्वास्थ्य मन्त्रालयले तोकेका करिब चार दर्जन सूचांक पूरा गर्नुपर्ने चुनौती महानगरलाई थपिएको विचार व्यक्त गर्नु भयो । ती सूचांक पूरा गर्न नसक्दा विगतमा ६५ औं जिल्ला बनेको चितवनलाई गतवर्ष २८ औं जिल्ला बनाउन सफलता मिलेको जानकारी दिँदै झाले अब चितवनलाई उत्कृष्ट पाँचभित्र ल्याउने गरी काम गर्नुपर्ने सुझाव दिनुभयो ।
भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले अब वडा वडामा समन्वय र अनुगमन गरिने बताउनु भयो । उहाँले पूर्ण खोपयुक्त वडा घोषणा गर्दै सिंगो महानगरलाई नै पूर्ण खोपयुक्त बनाउनेतर्फ महानगर लाग्ने योजना सुनाउनु भयो । सम्पूर्ण वडा कार्यालयले आआफ्नो वडाभित्र स्वास्थ्य संस्थाको व्यवस्थापनसँगै अनुगमन र नियमन गर्नुपर्ने बताउनु भयो ।
महानगरप्रमुख रेनु दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १४ नम्बर वडाका अध्यक्ष ओमप्रकाश पोखरेल, महानगरको स्वास्थ्य शाखाकी परिवार नियोजन अधिकृत सीता दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस