दशैंमा नेताहरुले यसरी दिए शुभकामना

सफल खबर संवाददाता

सोमबार, १० कार्तिक २०७७, ०९ : ११
दशैंमा नेताहरुले यसरी दिए शुभकामना

काठमाडौं । वडा दशैंको अवसरमा राष्ट्रपती , उपराष्ट्रपती , प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरुले नेपालीहरुमा शुभकामना ब्यक्त गरेका छन् । कोभिड १९ को महामारीका वीच यसपटक सबै नेताहरुले सुरक्षित भएर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर घरभित्रै मात्र यसपटकको दशैं पर्वलाई सिमित गरेर मनाउन नेताहरुको अपिल छ ।

राष्ट्रपती विद्यादेवी भण्डारी, उपराष्ट्रपती नन्दवहादुर पुन, प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरवहादुर देउवा लगायतले घर र डेराभित्रै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने, फजुल खर्च नगर्ने, सामाजिक दुरी कायम गर्ने र दशैलाई कोरोना फैलने माध्यम वन्न नदिन अपिल गदै शुभकामना सन्देश जारी गरेका हुन् ।

कसले के भने सुभकामना सन्देशमा :

स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैं मनाऔं : राष्ट्रपती 
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सम्वन्धि सवै मापदण्ड पालना गरेर दशै मनाउन सर्वसाधारणमा अपिल गरेकी छिन् । सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्वधन गर्न पनि उनले सागै अपिल गरेकी छिन् ।

बडादशैं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै राष्टपति भण्डारीले कोभिड–१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैं मनाउन आग्रह गरेकी हुन् । ‘आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छ,’ राष्टपतिले शुभकामना सन्देशमा भनेकी छिन् ।

दशैंलाई कोरोना फैलने माध्यम नबनाऔं : उपराष्ट्रपती 
उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ्ग) ले  चाडपर्व मनाउदा कोरोना फैलने माध्यम बनाउन नहुने बताएका छन् ।

विजया दशमीका अवसरमा शुभकामना सन्देश दिँदै उनले कोरोना महामारीका कारण यस वर्षको दशैं विगत वर्षको जस्तो उल्लासमय वातावरणमा मनाउने अवस्था नरहेको र सुरक्षा सर्तकता अपवनाउन विशेष अपिल गरेका छन् । उनले जो जहाँ छ त्यही अवस्थामा घरमै बसेर दशैं मनाउन पनि अपिल गरेका छन् ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि तीनै तहका सरकारले निरन्तर प्रयास गरिरहे तापनि स्वास्थ्य अवस्था गम्भीर बनेका कतिपय संक्रमितले उपचार अभाव भोग्नुपरिरहेको खबर आउनु दुःखद् भएको उल्लेख गर्दै उपराष्ट्रपतिले कोरोनाका कारण स्वास्थ्य अवस्था जटिल भएकाको उचित उपचारको प्रबन्ध गर्न तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सबै तहका सरकारको ध्यानाकर्षण गराएका छन् ।

जो जाहा छौं, त्यही मनाऔं यसपटकका दशैं : प्रधानमन्त्री
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जो जहाँ छौं, त्यहीँ रहेर दसैं पर्व मनाउन आग्रह गरेका छन् । उनले दशैंका अवसरमा दिएको सुभकामना सन्देशमा चाडबाड केबल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि भएको भन्दै कोरोना महामारीका कारण सबैलाई फरक ढंगले दशै मनाउन अपिल गरेका हुन् ।

उनले चाडपर्वका नाममा फजुल खर्च नगर्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् । ‘चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्ष तथा औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामथ्र्यकोसमेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन्’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वलाई मितव्ययी र उचित बनाउन सबै सजग र सचेत रहनुपर्छ ।’ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा कोरोना संक्रमणको सम्भावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर दसैं मनाउन ओलीले सबैमा आग्रह पनि गरेका छन् । यसपालिको बडा दसैं, जो जहाँ जहाँ छौं, त्यहीँ त्यहीँ रहेर मनाउन उनको विशेष अपिल छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर दशैं मनाऔं : प्रचण्ड
त्यस्तै, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि दशैंको अबसरमा शुभकामना ब्यक्त गरेका छन् । प्रचण्डले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबैमा अपिल गरेका छन् ।

दसैँ, तिहार, छठ, नेपाल संवतलगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले कोभिड–१९ को विषम परिस्थितिमा सुरक्षित भएर पर्व मनाउन अपिल गरेका हुन् । कोरोना भाइरसका कारण प्रभावित जनजीवन आगामी दिनमा सामान्य बन्न सकोस्  भन्दै प्रचण्डले स्वदेश तथा विदेशमा हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

नेपाली समुदायले मनाउने विभिन्न सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता, भ्रातृत्व र भावनात्मक एकता पैदा गर्ने प्रचण्डको भनाई छ । उनले चाडपर्वले नेपाली समुदायमा राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पु¥याएको पनि उल्लेख गरेका छन् ।

घर भित्रै सिमित गरौं यो वर्षको चाडपर्व : देउवा
त्यसैगरी, कांग्रेस सभापति शेरबहादुर देउवाले पनि दशैंको अवसरमा सुभाकमना सन्देश जारी गरेका छन् । देउवाले सवै नेपालीहरुलाई घर—डेरामै सीमित रहेर दसैं मनाउन अपिल गरेका छन् । देउवाले पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न देउवाले अपिल गरेका हुन् ।  कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न पनि देउवाको सुझाव छ ।

 विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबूत बनाउँंदै आएको र बनाउनुपर्ने देउवाले शुभाकमना सन्देशमा ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस