अाठ मार्च विशेष

भरतपुर महानगरपालिकाले यसरी सम्झियो आठ मार्चलाई

विहीबार, २४ फागुन २०७४, १६ : ०९
भरतपुर महानगरपालिकाले यसरी सम्झियो आठ मार्चलाई

चितवन । प्रमुख र उपप्रमुख दुवै पदमा महिला पाएको भरतपुर महानगरपालिका कार्यालयले आज बिहीबार भरतपुरमा महिला अधिकार र चुनौती विषयक अन्तरसंवाद कार्यक्रमको आयोजना गरी आठ मार्चलाई सम्झिएको छ । एक सय आठौं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्तरसंवाद कार्यक्रमको आयोजना गरेको हो ।

भरतपुर महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सांसद कृष्णभक्त पोखरेलले महिला अधिकार, चुनौती र गर्नुपर्ने कामबारे बोल्नु भएको थियो । सांसद पोखरेलले आठ मार्च सबैखाले विभेदको अन्त्यका लागि संकल्प गर्ने दिन भएको बताउनु भयो । उहाँले संविधानको प्रस्तावनामा नै लैंगिक विभेद लगायतका सबैखाले विभेदको अन्त्यका लागि काम गरी समतामूलक समाज निर्माणको संकल्प गरिएको स्मरण गराउनु भयो ।

संविधानमा समानताको हकमा धर्म, जाति, वर्ग, लिंग वा कुनै पनि आधारमा भेदभाव गरिने छैन भनिएको छ, सांसद पोखरेलले भन्नुभयो, संविधानको धारा ३८ मा महिलाको हक उल्लेख छ । सर्वोच्च अदालतले समेत आमाको नामबाट सन्तानलाई नागरिकता दिने विषयमा नजिर स्थापना गरेको छ । अब आमाको नामबाट नागरिकता दिन बाधा छैन । बाबुको ठेगान नभएकाहरुलाई बाबुको नाम खाली राखेर नागरिकता दिन मिल्ने फैसला सर्वोच्च अदालतबाट भइसकेको छ ।

अन्तरसंवाद कार्यक्रममा महानगरका सबैजसो वडाबाट सयौंको संख्यामा महिला सहभागी भएका थिए । उनीहरुले माइतीको टुंगो नभएका महिलाले नागरिकता पाउन नसक्दा उनीहरुका सन्तान समेत नागरिकताबाट बञ्चित हुनु परेको बताएका थिए । केही महिलाले बिधवा महिलामात्र नभई विवाह नगरी बसेका महिला र सम्बन्ध विच्छेद गरेर बसेका महिला पनि एकल महिलाको परिभाषाभित्र अट्नु पर्ने बताएका  थिए ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले गृह मन्त्रालयबाट परिपत्र नहुँदा आमाको नामबाट नागरिकता दिने विषयमा समस्या रहेको बताउनु भयो । उहाँले जनप्रतिनिधिको रोहवरमा उनीहरुले नै जिम्मा लिने गरी नागरिकता सम्बन्धी समस्या समाधान गर्दै आएको जानकारी गराउनु भयो । माइतीको पहिचान नखुलेका महिलाले नेपालीसँगै बिहे गरेपनि नागरिकता पाउन नसकेकोले यसको लागि कानुन बनाउन आवश्यक भएको उहाँको भनाइ थियो ।

प्रदेश सांसद गीता वाग्लेले महिला दिवसको कार्यक्रममा पुरुषलाई किन प्रमुख अतिथि बनाएको भनी आपत्ति जनाउनु भयो । उहाँले बालिका बलात्कार गर्नेलाई मार्नुपर्छ भनेर गैरकानुनी अभिव्यक्ति समेत दिनुभयो । नेपालको कानुनमा कुनै पनि अपराधमा मृत्युदण्डको व्यवस्था छैन ।

कार्यक्रममा समापन मन्तव्य राख्नु हुँदै भरतपुर महानगर प्रमुख रेनु दाहालले महिलाहरुको मुद्दामा खुल्ला बहस चलाउन अन्तरसंवाद कार्यक्रमको आयोजना गरिएको स्पष्ट पार्नुभयो । महिला अधिकार प्राप्तिको लडाइँ अहिले पनि जारी रहेको धारणा व्यक्त गर्दै महानगर प्रमुख दाहालले भन्नुभयो, जति अधिकार उति संघर्ष भनेजस्तै हामीले अधिकार प्राप्तिको लडाइँ अझै जारी राख्नु पर्छ । हामीले अधिकार पाएका पनि छौं। थप अधिकारका लागि थप संघर्ष गर्नुपर्छ । अंश र वंश अधिकार कायम हुनुपर्छ ।

प्रमुख अतिथि पुरुष किन भन्ने प्रश्नको जवाफ दिँदै महानगर प्रमुख दाहालले भन्नुभयो, प्रमुख अतिथि महिला खोजिएकै हो, तर विषयबस्तु अनुसार प्रस्तुति दिनसक्ने कोही नभेटिएपछि कानुनी विषयमा जानकार, महिलाका अधिकारका लागि वकालत गर्दै आउनु भएका, सांसद, कानुनी विषयमा जानकार व्यक्तित्वलाई प्रमुख अतिथि बनाएका हौं । महिलाले मात्रै महिलाका लागि लड्नु पर्छ भन्ने छैन । पुरुषको साथ नलिइकन महिला अधिकार स्थापित गर्न सकिँदैन । 

प्रतिक्रिया दिनुहोस