– पुरुषोत्तम पौडेल
रहेछ संसार निशा समान ।
आएन ज्यूँदै रहँदा नि ज्ञान ।।
आखिर श्रीकृष्ण रहेछ एक ।
न भक्ति भो, ज्ञान, न भो विवेक ।।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तिम कविताको भाव हो यो । उनले जीवनको अन्तिम क्षणमा किन यस्तो कविता लेखे ? अनि जीवन र जगतसँग सबभन्दा आशावादी उनी अन्तिम क्षणमा किन निराश भए ? भौतिकवादी चिन्तनका प्रवक्ता देवकोटाले के भएर यस्तो लेखे ?
यसो भन्नु पछाडि लुकेको वास्तविकता भने उनको आदर्शमा लागेको चोट नै हुनुपर्छ । आफ्नै जीवनको भोगाइ हुनुपर्छ । उनले आशा गरेका, विश्वास पोखेका अनि भविष्यमा केही गर्लान् भनेर ठानिएका व्यक्ति र व्यक्तित्वको सोच, विचार र व्यवहारमा आएको स्खलनको प्रभाव हुनुपर्छ । जसले उनको आशाको अंकुरलाई मारिदियो । अनि उनको भावुक हृदयमा चोटिलो प्रहार ग¥यो । उनले आफ्नै आँखाअगाडि ठुल्ठूला आदर्शका कुरा गर्ने मान्छेहरू चिप्लिएको देखे । आफूलाई घागडान सिद्धान्तकार भन्नेहरूले बाटो बिराएको भेटे । आदर्श ठानिएका महामानवको विचार र व्यवहारमा आकाश–जमिनको फरक पाए ।
यस्तो हँुदा कुनै पनि मानिसमा बिचलन आउन सक्थ्यो । देवकोटाले आफूलाई सिद्धान्तनिष्ठ भन्नेहरू व्यवहारमा हराएको देखे । आफूले आदर्श मानेका मान्छेहरू स्वार्थमा निर्लिप्त भएर बिलाएको पाए । अनि कसको विचारमा खलबली आउँदैन र ! देश र जनताको पक्षमा भएका प्रतिबद्धता र वचनबद्धता बिलाउँदै जान थालेको, जनताप्रतिको प्रेम र सामाजिक परिवर्तनप्रतिको चाह साँघुरिँदै गएको अनि राष्ट्रियताको संरक्षणका मुद्दामा लापरवाही हुँदै गएको देखिएपछि उनमा निराशा पलायो ।
मुलुक निर्माणको इच्छाशक्तिमा खिया लाग्दै गएको, लोकतन्त्र, समाजवाद, न्याय र समानताको स्थान गुटस्वार्थ, परिवारवाद हँुदै केवल कमाऊ, खाऊ वादमा परिणत भएको देखेपछि भावुक महाकवि लक्ष्मीप्रसाद देवकोटाको मन भरंग भयो होला । त्यही मुडमा यो कविता लेखेर आफू पनि एक्कासि एउटा परालौकिक चिन्तनको सहारामा गएका हुन सक्छन् ।
देश र जनताको निम्ति समर्पित स्वच्छ राजनीतिलाई अपराधीकरणतर्फ लगिएपछि, जनताबीच जारी पार्टीको घोषणापत्रलाई रद्दीको टोकरीमा थन्क्याएपछि, जनताले निर्वाचित गरेको पदलाई पैसा कमाउने मेसिनमा फेरिदिएपछि, जनताकै ताकत र समर्थनमा प्राप्त राज्यको जिम्मेवारीलाई धाक, धक्कु र रवाफ देखाउने भाँडोको रूपमा मात्र बुझिएपछि के हुन्छ ? अनुयायीहरूमा आक्रोश, विरोध र विग्रह पैदा भै या त पलायन हुने प्रवृति बढ्छ या विद्रोहको बिउ रोपिन्छ ।
आफँैले जनताबीच लामो समयसम्म पढाएको माक्र्सवादी सिद्धान्तलाई सिद्धान्तकै रूपमा सीमित गर्दै पुँजीवादीभन्दा माथि नवावी शैली प्रदर्शन गर्ने, विचार, सिद्धान्त र आचारसंहिता लगाउने, शास्त्र शस्त्रको रूपमा प्रयोग गर्न थालिएपछि कसको मन दुख्दैन र ? नीति, विधि र विधानलाई आफ्नै स्वार्थका लागि तोडमोड गर्ने, आफू, आफ्ना र आफ्नो शक्ति बलियो बनाउन मात्र ध्यान दिने अनि स्वार्थपूर्तिमा मात्र केन्द्रित भएर संगठन गर्दै गएपछि हालत के हुन्छ ? मैले भनेको मात्र सत्य हो, पार्र्टी पनि मेरो नेतृत्वमा भएकाले मेरो इच्छाअनुसार नभए निर्णय नमान्ने सोच पलाएपछि के हुन्छ ? व्यवहारतः कार्यबाटै परिणाम निर्धारित हुन्छ ।
देशको संविधान, कानुनलाई आफ्नो बचाउमा मात्र प्रयोग गर्ने, आफ्नो हित भए ठीक नत्र बेठिक भनेर सोच्ने अनि आफ्नो पछाडि भएको दुनियाँलाई बिर्सिदिएपछि के हुन्छ ?
कार्यकर्तालाई चुनाव जिताउने साधन बनाउने, घोषणापत्रलाई स्टन्टको रूपमा मात्र बुझ्ने अनि संगठन र पार्टीलाई चुनाव जिताउने सिँढीका रूपमा मात्र प्रयोग गर्ने भएपछि के हुन्छ ? त्यति गरेर सत्तामा पुगेपछि पनि मै शासक हुँ, मै सत्ता र राज्य हुँ भनेर आफूखुसी गर्न थालेपछि के हुन्छ ? यो कुरा देवकोटाले २०१५÷१६ सालमै देख्नु भयो ।
पानी र बानी माथिबाट बग्छ भनिन्छ । शीर खराब भएपछि स्वतः तीर पनि खराब हुन्छ । सोच खराब भएपछि परिणाम पनि खराबै आउँछ । कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेजस्तो रडाको मच्चिएको थियो ०१६ सालमा पनि ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्रीको रूपमा देशको सेवा गर्ने अठोटसहित अघि बढेका थिए । सबै नीतिको मूलनीति राजनीति भएको विश्वाससाथ देशको सेवा गर्न तम्सिएका थिए । ठीक त्यहीबेला तत्कालीन राजनीति सत्तासंघर्षमा केन्द्रित भयो । लुछाचुँडीमा मस्तसँग डुब्न थाल्यो । भ्रष्टाचारमा डुबुल्की मार्न थाल्यो । आन्तरिक अन्तरविरोध र बदलाभाव अनि प्रतिशोध साँध्नमा व्यस्त देखिन थाल्यो, त्यसैले महाकवि देवकोटा लज्जित भएर यस्तो कविता लेख्ने निश्कर्षमा पुगेको हुनुपर्छ । वा उनको मनमा त्यस्तो निराश सोच आएको हुनुपर्छ ।
सानो उदाहरण हेरौँ न काभ्रे जिल्लाकै परिचय बनेका कमरेड शिवबहादुर देउजा र रामप्रसाद अधिकारीको हिसाब–किताब छैन । झापा आन्दोलनको अगुवामध्येका कमरेड नरेश खरेल र घनेन्द्र बस्नेत गुमनाम भए । नेता प्रदीप नेपाललाई कता थान्को लगाइएको छ ? प्रसिद्ध साहित्यकार कमरेड मोदनाथ प्रश्रितलाई किन पार्र्टीबाट अलग गराइएको हो ? नेपालका मण्डेला भनेर चिनिने मोहनचन्द्र अधिकारी देवकोटाकै सोचमा पुगिसक्नुभएको धेरै भयो । हाम्रो काम कार्वाहीले अझ कतिलाई कहाँ पु¥याउँछ !
सोचौँ है कमरेडहरु, गम्भीर भएर सोचौँ । आफ्ना लागि मात्र होइन देश र दुनियाँको लागि पनि सोचौँ । अर्को पुस्ताको लागि पनि अलिकति सोचौँ ।
(लेखक नेकपा नेता एवं पूर्वखेलकुदमन्त्री हुन् । यो लेख हामीले जनआस्था साप्ताहिकबाट साभार गरेका हौँ ।)
प्रतिक्रिया दिनुहोस