चितवन विशेष

आठ मार्चको अवसरमा दस जना महिला जनप्रतिनिधि सम्मानित

बुधबार, २३ फागुन २०७४, १६ : ३०
आठ मार्चको अवसरमा दस जना महिला जनप्रतिनिधि सम्मानित

चितवन । अन्तर्र्राष्ट्रिय महिला दिवस आठ मार्चको अवसरमा बुधबार चितवनको भरतपुरमा दस जना महिला जनप्रतिनिधिलाई रातो सल ओढाएर उपहारसहित सम्मान गरिएको छ । भरतपुर महानगरपालिका र जिल्ला समन्वय समितिसँगको समन्वयमा महिला तथा बालबालिका कार्यालय चितवनले महिला जनप्रतिनिधिलाई सम्मान गरेको हो । 

एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश सभाका सदस्य एवं स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मानित गरिएको हो । सम्मानित हुनेहरुमा प्रदेश सांसदहरु गीता वाग्ले, कञ्चन खनाल र पार्वती सिलवाल, भरतपुर महानगर उपप्रमुख पार्वती शाह, रत्ननगर नगर उपप्रमुख विमला दुवाडी लगायत रहेका छन् । कार्यक्रममा राष्ट्रपति महिला उत्थान कार्यक्रममा संलग्न महिलाहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

महिला तथा बालबालिका कार्यालय प्रमुख शान्ताकुमारी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद गीता वाग्ले रहनु भएको थियो । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, सम्मानित महिला जनप्रतिनिधि लगायतले मन्तव्य व्यक्त गरेका थिए । यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको नारा आर्थिक सशक्तिकरणसहितको सामाजिक जागरण ः ग्रामीण तथा शहरी महिलाकोे जीवनस्तरको रुपान्तरण भन्ने रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस