प्रदेश नं  १ मा  सङ्क्रमित तीन हजार : प्रदेश नं २ मा कुल मृतक ९४, प्रदेश नं ५ को रुपन्देहीमा ११ सुरक्षाकर्मी सङ्क्रमण, सुपमा मृत्युदर स्थिर

रासस

मंगलबार, १६ भदौ २०७७, २१ : २४
प्रदेश नं  १ मा  सङ्क्रमित तीन हजार : प्रदेश नं २ मा कुल मृतक ९४, प्रदेश नं ५ को रुपन्देहीमा ११ सुरक्षाकर्मी सङ्क्रमण, सुपमा मृत्युदर स्थिर

काठमाडौँ । पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा ८७ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये २१ महिला र ६६ जना पुरुष छन् ।   सुनसरीमा ५६, मोरङमा १५, झापामा १४ तथा पाँचथर र धनकुटामा एकएक जनामा आज सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपिएका कोरोना सङ्क्रमितमा इनरुवामा चार महिला र २२ पुरुष, इटहरीमा तीन महिला र १८ पुरुष, दुहवीमा तीन महिला र चार पुरुष, धरानमा एक महिला र एक पुरुष,  विराटनगरमा तीन महिला र सात पुरुष, बेलबारीमा दुई महिला र एक पुरुष तथा रतुवामाईमा दुई पुरुषमा छन् ।

मन्त्रालयका अनुसार झापाको दमकमा तीन महिला र पाँच पुरुष, बा¥हदशीमा एक महिला र तीन पुरुष, गौरीगञ्ज र कमल गाउँपालिकामा एकएक पुरुष, पाँचथरको फिदिममा एक पुरुष र धनकुटाको धनकुटा नगरपालिकामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ ।

हालसम्ममा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ४५४ पुगेको छ । आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२  र  कोभिड–१९ आइसोलेसन केन्द्र रङ्गेलीबाट दुई  गरी १४ जना निको भएर घर फर्केका छन् । हालसम्ममा कोरोनाबाट मुक्त भएर घर फर्केनेको सङ्ख्या एक हजार ६०३ पुगेको छ ।

 पछिल्लो २४ घण्टाका अवधिमा एक हजार १७५ जनाको पिसिआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार हालसम्ममा ९० हजार १६५ जनाको  परीक्षण भइसकेको छ । पछिल्लो समयको तथ्याङ्कलाई हेर्दा विराटनगर उपमहानगरमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दो तथा सुनसरी, मोरङ र झापा जिल्लामा बढ्ने क्रममा रहेको पाइएको छ ।

जनकपुर– पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप चार पुरुषको मृत्यु भएपछि प्रदेश नं २ मा  सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको छ ।

सो अवधिमा मृत्यु हुनेमा पर्सा वीरगञ्ज–२० का ५३ वर्षीय, पर्साका ६० वर्षीय, सिरहाको मिर्चैया नगरपालिका–६का ६५ वर्षीय र बाराको कोल्हवी नगरपालिकाका एक  गरी चार जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ निर्देशक विजयकुमार झाले जानकारी दिनुभयो । 
  पछिल्लो २४ घण्टामा ८८ नयाँ सङ्क्रमित थपिएका छन् । सोअनुरुप सप्तरी र सिरहाबाट एकएक, धनुषाबाट २९, महोत्तरीबाट ११, सर्लाहीबाट १६, रौतहटबाट तीन, बाराबाट आठ, पर्साबाट १८ र अन्य एक जना गरी ८८ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

यससमेत प्रदेशमा सङ्क्रमितको सङ्ख्या १० हजार ३०६ पुगेको छ । तीमध्ये ५१ जना उपचार गराई आज निको भएर घर फर्केका छन् । यससमेत गरी अहिलेसम्म चार हजार ९८८ जना निको भएर घर फर्केका छन् ।

प्रदेशअन्तर्गत १९६  क्वारेन्टिनमा आजसम्म ७२१ जना बसेका छन्  । होम क्वारेन्टिनमा एक हजार ५९८, आइसोलेसनमा एक हजार १२१ र होम आइसोलेशनमा चार हजार १०३ जना बसेका छन् ।

जनताको ज्यान रक्षाका लागि एक जुट 
मुख्यमन्त्री लालबाबु राउतले कोरोना महमारी नियन्त्रणका प्राप्त सुझाव यथाशीघ्र कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।   धनुषा र महोत्तरीका सरोकार पक्षसँग महामारी नियन्त्रणका लागि चाल्नुपर्ने कदमबारे सुझाव लिन बर्दिबासमा आज आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणमा भइरहेको प्रयास र आगामी दिनमा अपनाउनुपर्ने नीतिको सम्बन्धमा आठै जिल्लाका सरोकार पक्षले दिएको सुझावमध्ये कतिपय कार्यान्वयन चरणमा रहेको र बाँकी यथाशीघ्र पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

बर्दिबासमा सञ्चालित पिसिआर प्रयोगशालामा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने वचन उहाँले  दिनुभयो । उक्त छलफलमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले कोरोनाबाट जोगिनका लागि निर्धारण गरिएका मापदण्ड पालना गराउनका लागि समाजमा जनचेतना जागृत गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीले जिल्लाको अवस्थामा अगामी दिनमा चाल्नुपर्ने कदमबारे आआफ्ना प्रस्तुति  दिनुभएको थियो ।  यसअघि प्रदेश सरकारले सरोकार पक्षसँग सुझाव लिन पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी र सिरहामा छलफल गरेको थियो । 

रुपन्देही– जिल्लामा थप ११  सुरक्षाकर्मीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका  प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा सङ्क्रमित प्रहरीको संख्या १५ पुगेको छ ।

चौबीस जनाको स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणका लागि पठाइएकामा १८ जनाको रिपोर्ट आउँदा ११ जनामा पोजेटिभ देखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो । सङ्क्रमित प्रहरी सबै पुरुष रहेको र उनीहरु बुटवल उपमहानगरपालिकाको कोरिया नेपाल टेक्निकल इन्ष्टिच्युटको आइसोलेशनमा बसेको बताइएको छ । यसअघि चार प्रहरी र १५  थुनुवामा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । इलाका प्रहरी मातहतमा झण्डै डेढ सय प्रहरी कार्यरत छन् । तीमध्ये १५  महिला छन् ।
लकडाउन कार्यान्वयनका लागि फिल्डमा खटिएका केही प्रहरीलाई ज्वरो आउने समस्या देखिएकाले पिसिआर परीक्षण गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताउनुभयो । 

प्रहरीको सुरक्षाका लागि आर्युवेदिक औषधि, मास्क र  सेनिटाइजर प्रदान गरी दूरी कायम गरेर काम गर्न आग्रह गरिएको छ । जिल्लामा करीब एक हजार दुई सय सुरक्षाकर्मी कार्यरत छन् । 

दाङ जिप्रका  बन्द
कर्मचारीमा कोरोना सङक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।प्रशासनले आज विज्ञप्ति प्रकाशन गरी एक कर्मचारीमा   सङ्क्रमण देखिएकाले अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको जनाएको हो । 

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी विज्ञप्तिमा शान्तिसुरक्षा र मुद्दालगायत अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द भएको जनाइएको छ । 

राप्ती प्रादेशिक अस्पतालको बहिरंग सेवा बुधबारदेखि
 तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालले बुधबारदेखि बहिरङ्ग सेवा शुरु गर्ने भएको छ ।  अस्पताल विकास समितिको आज बसेको बैठकले सबै स्वाब परीक्षण गरिएकाले कोरोनाको जोखिम नभएको जनाई सेवा शुरु गर्ने निर्णय गरेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा पदमराज अधिकारीले बताउनुभयो । अस्पतालले सोमबारदेखि आकस्मिक र प्रसूति सेवा शुरु गरेको थियो ।

उहाँका अनुसार शनिबार दुई चिकित्सकसहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि अस्पताल बन्द गरिएको थियो । अस्पतालका बाँकी कर्मचारी तथा बिरामीको स्वाब परीक्षण गर्दा आज एकएक स्टाफ नर्स र कार्यालय सहयोगीको कोरोना  पोजेटिभ  आएको थियो । उनीहरु सबैलाई आइसोलेशनमा राखिएको छ ।  

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो हप्तामा कोभिड—१९को सङ्क्रमणका कारण हुने मृत्यु दर स्थिर देखिएको छ । कोरोना भाइरसको सङ्क्रमण भने बढ्दै गएको छ । 

हाल मृत्यु दर स्थिर देखिए पनि जोखिम यथावत् रहेको स्वास्थ्यकर्मीले बताएका छन् । सेती प्रादेशिक अस्पताल धनगढीका कोभिड—१९उपचार विभागका प्रमुख एवं वरिष्ठ फिजिशियन कन्सल्टेन्ट डा शेरबहादुर कमरले सङ्क्रमित हुनेमध्ये बढी सङ्ख्यामा रोगसँग लड्न सक्ने क्षमता भएका युवा तथा वयस्क उमेरका  भएको र दीर्घरोग लागेका व्यक्ति सङ्क्रमित नहुनाले प्रदेशमा सङ्क्रमित बिरामीको अवस्थामा पछिल्ला दिनमा जटिलता नदेखिएको बताउनुभयो ।

 ‘‘बिरामीको अवस्था जटिल बन्न सक्ने जोखिम भने यथावत् रहेकाले निरन्तर निगरानीमा राखिरहेका छौंँ”, उहाँले भन्नुभयो ।  
धनगढीस्थित सेती प्रादेशिक अस्पताललगायत अस्पतालमा पछिल्ला केही दिनयता सघन उपचार कक्ष अथवा भेन्टिलेटरमा राख्नुपर्ने खालका जटिलावस्थाका बिरामी नरहेको डा कमरले बताउनुभयो । 
  प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाको तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने भदौ १०गतेयता कोरोना भाइरसबाट कसैको मृत्यु भएको छैन । गत हप्तामा कोरोना सङ्क्रमित भने ४१५जना थपिएका छन् । 

भदौ १० गते कैलाली जिल्लाका कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएको थियो ।  अहिलेसम्म कैलालीका छ, बझाङ र बाजुराका दुईदुई र अछामका एक गरी ११ कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । 
प्रदेशमा पछिल्लो २४ घण्टामा थप सयभन्दा बढीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी, डडेलधुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका क्रममा थप १०१ जनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको हो । 

आज सङ्क्रमित फेला पर्नेमा कैलाली,कञ्चनपुर, अछाम, बैतडी, बझाङ, डडेलधुरा र डोटी जिल्लाका छन् । यससँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको सङ्ख्या कूल पाँच हजार८८०पुगेको छ । 
यीमध्ये सक्रिय सङ्क्रमित भने ८८४पुगेका छन् । केही हप्तायता पिसिआर पद्धतिबाट शङ्कास्पदको स्वाबको नमूना सङ्कलन र परीक्षणको दायरा वृद्धि भएको छ । दैनिक हाल बढीमा एक हजार७३०वटासम्म नमूना जाँच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस