काठमाडौं । यो वर्षको जसुदा स्मृति पुरस्कारबाट भाषा शर्मा सम्मानित भएकी छिन् । जसुदा प्रधान स्मृति कोषले “महिला सम्पादक भएका म्यागजिन : निरन्तरतामा चुनौती” विषयको शोधबापत शर्मालाई यस्तो सम्मान प्रदान गरेको हो । हाल नागरिक दैनिकमा पत्रकारिता गर्दै आएकी शर्माले काठमाडौं नयाँबानेश्वरस्थित सेफर्ड कलेजमा पत्रकारिता अध्ययनरत स्नातकोत्तर सो शोध गरेकी थिइन् ।
बुधबार राजधानीमा आयोजित कार्यक्रमबीच डा. सुरेशप्रसाद आचार्यले शर्मालाई प्रशंसापत्र र २५ हजार रुपैंया नगदसहितको उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् । पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले भाषा नेपाली पत्रकारिता क्षेत्रमा आवद्ध महिला र महिलाले सञ्चालन गरेको पत्रपत्रिकाको अवस्थाका बारेमा गरेको शोधले यो क्षेत्रको अवस्थाको बारेमा प्रकाश पार्न सफल भएको भन्दै यसले यो क्षेत्रको बारेमा बुझ्न र थप अध्ययन गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
‘मेरो ३५ वर्षे पत्रकारितामा महिलाहरुले सञ्चालन गरेका धेरै त्यस्ता पत्रपत्रिका र म्यागजिनहरु देखेँ तर विविध कारणले ती पत्रपत्रिकाहरुले निरन्तरता पाउन नसकेको अवस्था पनि देखेँ । त्यही भएर मैले नै उहाँलाई यो विषयमा शोध गर्न सल्लाह दिएको हुँ,’ आचार्यले भने, ‘शोधका आफ्नै सीमा हुन्छन्, यो सीमामा रहेर उहाँले जति अध्ययन गर्नुभएको छ, त्यो राम्रो छ । यसले यो विषयमा बुझ्न र थप अध्ययन गर्न चाहनेलाई सहयोग पनि गर्छ ।’
कार्यक्रममा सम्मान ग्रहण गर्दै शर्माले आफू मोफसलबाट अध्ययनका लागि राजधानी आएको र पत्रकारिता क्षेत्रमै लागिरहेकोले यो क्षेत्रमा आवद्ध महिलाहरुको अवस्था र उनीहरुले सञ्चालन गरेको पत्रपत्रिकाको बारेमा अध्ययन गर्न उत्सुक भएको बताइन् । आफ्नो शोधले पारिवारिक दवाव र विवाहपछिको प्रतिकुल अवस्थाका कारण महिलाहरुले पत्रकारितामा निरन्तरता दिन नसकेको पाइएको भन्दै आफू जसुदा प्रधानको बाटो पछ्याउँदै सँधै पत्रकारितामै रहिरहने लक्ष्य भएको बताइन् ।
कार्यक्रमका जसोदा प्रधान स्मृति कोषका अध्यक्ष तथा पिपुल्स रिभ्यु साप्ताहिक प्रधानसम्पादक पुष्पराज प्रधानले पछिल्लो समय पुरस्कार र सम्मानमा देखिएको विकृतिलाई हटाउँदै पत्रकारिता विषयमा शोध गर्नेलाई सहयोगको उद्देश्य अनुरुप यस्तो पुरस्कार वितरण गर्दै आएको बताए ।
अँग्रेजी भाषाको पिपुल्स रिभ्यु साप्ताहिकको प्रबन्ध सम्पादक तथा नेपाली भाषाको संरचना साप्ताहिकको प्रधान सम्पादक रहेकी स्व. जसुदा प्रधान ३ दशक पत्रकारितामा आवद्ध थिइन् । २०६९ मा उनको निधनपछि उनको सम्झनामा २०७२ सालदेखि काषले यो पुरस्कार प्रदान गर्दै आएको छ । यसका लागि कोषले अक्षय कोषमार्फत् यस्तो पुरस्कारको व्यवस्थापन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ भदौ २०७७, ०९ : २३
लेखकबाट थप