काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै छ । १०१ वर्षको उमेरमा उनको हिजो साँझ ५ वजेर ५५ मिनेटमा काठमाडौंको लैनचौर कपुरधारास्थित आफ्नै निवासमा निधन भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि घरमै अक्सिजन दिएर राखिएका कविवर घिमिरेको निधन भएको हो ।
उनको पार्थिव शरीरमा आज बिहान १० बजे उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सरकारका तर्फबाट राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम छ । त्यसपछि उनको आजै अन्तिम दाहसंस्कार गरिने कार्यक्रम रहेको परिवारजनले बताएका छन् । घिमिरेको जन्म वि. सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनलाई राष्ट्रकविको उपाधी दिईएको भएपनि उपाधी का विषयमा भने यदाकदा विवाद पनि कायम छ ।
खासगरी उनलाई राजा ज्ञानेन्द्रले शाही सत्ता आफ्नो हातमा लिएको बेला राष्ट्रकविको उपाधी दिएका थिए । उनलाई २०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ‘छन्द शिरोमणि’को उपाधिबाट अभिनन्दन गरेका थिए । त्यसको तीन दिनपछि उनलाई ‘राष्ट्रकवि’को रूपमा अभिनन्दन गरिएको थियो । तत्कालिन राजा ज्ञानेन्द्रले कवि माधव घिमिरेलाई ‘राष्ट्र कवि’ को उपाधी दिएका हुन् ।
देशमा राजा ज्ञानेन्द्र शाहको निरंकुश शासनबिरुद्ध नेपाली जनताले जनयुद्ध र जनसंघर्ष गरे । त्यतिखेर कवि माधव घिमिरे राजा ज्ञानेन्द्रले दिएको शाही प्रज्ञा प्रतिष्ठानको उच्च पदमा आसिन भई राज्यको भत्ता खाई बसेका थिए । उनी २०६२, ६३ को लोकतान्त्रिक आन्दोलनको पक्षमा उभिएको दृष्टान्त छैन् । उनी नेपाली भाषाका स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने कवि हुन् ।
जे भएपनि उनलाई तत्कालिन सरकारले राष्ट्रकविका रुपमा नै सम्मान गरेका कारण त्यसयता उनलाई सबैले राष्ट्रकविका रुपमा नै सम्मान गर्दै आएका छन् । तर कविवर घिमिरेको आलोचना गर्नेहरु पनि छन् । राष्ट्रकविको उपाधी लिएका घिमिरेले आम नेपाली श्रमिक वर्ग र सर्वसाधारणको हितमा उभिएका र पक्षपोषणमा कुनै साहित्य सिर्जना नगरेको आरोप पनि उनीमाथी लाग्दै आएको छ । २०३८ सालमा नेपाली रङ्गमञ्चमा एउटा लोकप्रिय गिती नाटक सीम्मा मञ्चन भएको थियो ।
मुग्लान पसेका गोर्खाली सेनाहरुलाई विदेशीको गुलाम गर्नुभन्दा नेपाल भित्रकै शत्रु तत्कालीन निरंकुश सामन्ती राजशाही एवं पञ्चायती व्यवस्थाविरुद्ध लड्न स्वदेश फर्कन आह्वान गरेको साहित्यकार रायन श्रेष्ठद्वारा रचित र हरिकृष्ण दर्शनधारीद्वारा निर्देशित प्रगतिवादी सीम्मा गिती नाटक थियो । त्यो गिती नाटक मञ्चन हुँदा त्यसले हजारौं सर्वसाधारणलाई आकर्षित गरेको थियो ।
त्यसबाट आत्तिएर तत्कालीन राज्यसत्ताले सीम्मा गिती नाटकको काउन्टरमा प्रज्ञा भवनमा प्रेम कहानीमा आधारित माधव घिमिरेको ‘मालती मङ्गले’ गिती नाटक मञ्चन गरेको थियो । यसले गर्दा पनि उनलाई केही प्रगतिवादी साहित्यकारहरु भने आलोचना गर्ने गर्दथे । तर जे होस कविवर घिमिरेको नेपाली साहित्यमा योगदान अमूल्य छ । घिमिरेको मालती मंगले, शकुन्तला, किन्नर किन्नरी, घामपानी, राजेश्वरी, राष्टङ निर्माता, चारु चर्चा, आफ्नो बाँसुरी आफ्नै गीत जस्ता कृति प्रकाशित छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ भदौ २०७७, ०९ : ४८
लेखकबाट थप