श्रम शक्तिको सम्मान गर्ने वातावरण आवश्यक छ : दाहाल

शनिबार, १९ फागुन २०७४, १३ : ३०
श्रम शक्तिको सम्मान गर्ने वातावरण आवश्यक छ : दाहाल

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले मजदुरहरूको समस्या समाधान गर्दै श्रम शक्तिको उच्च सम्मान गर्ने वातावरणको विकास गर्न आवश्यक रहेको बताउनु भएको छ । अखिल नेपाल टे«ड यूनियन महासंघ, महिला जिल्ला समिति चितवनको चौथो जिल्ला सम्मेलन उद्घाटन समारोहलाई शनिबार आँपटारीमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
उद्घाटन समारोहकी प्रमुख अतिथि दाहालले मजदुरहरूलाई समान अवसर र समान ज्याला, विभेदको अन्त्य र पेशागत सुरक्षाको लागि भरतपसर महानगरपालिका सधैं क्रियाशील रहने बताउनु भयो । उहाँले क्षमता अनुसारको काम र काम अनुसारको पारिश्रमिक नदिने,  काममा महिला र पुरूषबीच विभेद गर्ने, असमान ज्याला, महिला हिंसा र बालबालिकालाई श्रममा लगाउनेलाई कारबाही गरिने बताउनुु भयो ।
महानगरपालिकाभित्र रहेका संघसंस्था, उद्योग, व्यवसाय, कलकारखाना, होटल तथा प्रतिष्ठानलाई ज्यालामा विभेद, महिला हिंसा, बालश्रम रोक्न आग्रह गर्दै दाहालले यी निकायहरू महिला तथा अपांगमैत्री हुनैपर्ने बताउनु भयो । महानगर प्रमुख दाहालले श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक र सुविधाहरू पूरा गरे वा नगरेको महानगरले अनुगमन गर्ने र नगर्नेहरूलाई तत्काल कारबाही गर्ने बताउनु भयो ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीको महासचिव समेत रहनु भएकी दाहालले महिला हक, हित र अधिकारको लागि आफूले संघर्ष गर्दै आएको स्मरण गर्नुभयो । उहाँले महिला तथा मजदुरहरूको अधिकार ब्यवहारमै कार्यान्वयन नहुँदासम्म अधिकार प्राप्तिको लडाईं जारी रहने बताउनु भयो ।
बलिदानीपूर्ण संघर्षबाट प्राप्त ३३ प्रतिशत सहभागिता ठूलै उपलब्धि हो, तर यतिमात्र पर्याप्त छैन, महानगर प्रमुख दाहालले भन्नुभयो, राज्यका हरेक अंगमा महिलाले समान सहभागिता पाउनु पर्छ । संविधानमा महिला अधिकार उल्लेख भएपनि त्यो पूर्ण नभएकोले त्यसलाई पूर्ण बनाउनेतर्फ हामी सबै लाग्नुपर्छ ।
विभिन्न पेशा र ब्यवसायमा आवद्ध मजदुरहरूको हक, हित र अधिकारको रक्षका लागि अब आन्दोलन गर्नै नपर्ने गरी नीतिगत ब्यवस्थाबाट समस्याको समाधानको पक्षमा आफू रहेको दाहालले सुनाउनु भयो । उहाँले भरतपुर महानगरपालिकाले फुटपाथ व्यवस्थापनमा ठोस कदम चाल्न लागेको जानकारी गराउँदै यस कार्यमा सहयाग गर्न मजदुरहरुलाई आग्रह गर्नुभयो ।
श्रम बजारमा महिलाहरू चुनौतीपूर्ण अवस्थामा रहेको धारणा राख्दै महानगर प्रमुख दाहालले महिलामैत्री श्रम नीति तर्जुमा गर्न आफू सधैं लागिपर्ने विश्वास दिलाउनु भयो । उहाँले श्रम र सीपको उचित सम्मान गर्ने वातावरण नहँुदासम्म मजदुर साथीहरूले न्याय नपाउने बताउँदै मजदुरहरू आफ्नो पेशाप्रति इमानदार भई एकजुट हुन आग्रह गर्नुभयो ।
महासंघकी महिला जिल्ला समिति अध्यक्ष सावित्री पौडेलको अध्यक्षता सम्पन्न उद्घाटन समारोहमा ट्रेड यूनियन महासंघकी नेता विष्णु थापा, नेकपा माओवादी केन्द्र चितवनका  मजदुर इन्चार्ज नन्दलाल दाहाल, यातायात मजदुर संघका अध्यक्ष सुमन भुजेल, अखिल नेपाल ट्रेड युनियन महासंघका पूर्वअध्यक्ष अनक मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस