आंशिक प्राध्यापकहरुद्वारा वीरेन्द्र वहुमुखी क्याम्पसमा तालाबन्दी

सफल खबर संवाददाता

आइतबार, २५ साउन २०७७, १८ : ४६
आंशिक प्राध्यापकहरुद्वारा वीरेन्द्र वहुमुखी क्याम्पसमा तालाबन्दी

चितवन । भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा आंशिक प्राध्यापकहरुले करारको माग राख्दै तालाबन्दी गरेका छन् । 

आंशिक प्राध्यापक संघ वीरेन्द्र बहुमुखी क्याम्पसका सचिव पदमलाल न्यौपानेको नेतृत्वमा आएको आंशिक प्राध्यापकहरूको टोलीले ताला लगाउनुअघि क्याम्पस प्रमुख दयाराम पौडेललाई ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा बौद्धिक शोषणमा परेका आंशिक प्राध्यापकहरुले समान कामको समान ज्याला र विना शर्त करारको माग राखेका थिए । क्याम्पस प्रमुख दयाराम पौडेलले आंशिक प्राध्यापकहरूको ज्ञापनपत्र बुझ्दै मागहरु सकारात्मक रहेको र उक्त मागहरु कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालयका पदाधिकारी समक्ष पठाउने जानकारी दिए । 

उक्त अवसरमा त्रिवि प्राध्यापक संघ इकाई समिति वीरेन्द्र बहुमुखी क्याम्पसका सभापति महेश प्रसाद अधिकारीले आंशिक प्राध्यापक हरूको माग जायज रहेको र आफ्नो संगठनले उक्त समस्या समाधान गर्न क्याम्पस प्रमुखको ध्यानाकर्षण गराइसकेको जानकारी गराए । 

आंशिक प्राध्यापक हरु करारको माग राखी धेरै लामो समयदेखि आन्दोलनरत छन् । आन्दोलनको कार्यक्रम अनुसार श्रावण २५ गतेबाट देशैभरिका त्रिवि आंगिक क्याम्पस हरुमा अनिश्चितकालीन तालाबन्दी रहेको कुरा विज्ञप्तिमार्फत जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस