आजको मौसम : केही सुधार भएपनि अधिकांश स्थानमा वर्षा हुने सम्भावना

सफल खबर संवाददाता

बुधबार, ०७ साउन २०७७, ०९ : ०३
आजको मौसम :  केही सुधार भएपनि अधिकांश स्थानमा वर्षा हुने सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशभरको मौसम  पनि सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्य वर्षा हुने जनाएको छ । मौसमविदका अनुसार  विगतका केही दिन भन्दा बुधबार मौसममा केही सुधार हुने संकेत देखिने छन् ।

मनसुनी न्यून चापीय रेखा देशको पश्चिम भूभाग भन्दा केही दक्षिणतिर सरेकाले पश्चिममा मौसम केही सुधार हुनेसंगै पूर्व र मध्यमा भने बदली र वर्षा पश्चिममा भन्दा बढी हुने छ । देशभर मनसुनी वायुको प्रभाव छ । यस्तै पूर्वी भू–भागमा मनसुनी न्यून चापीय रेखा नेपाल नजिक रहेकाले बदली तथा वर्षा बढी हुने देखिएको हो ।

अहिले देशभर सामान्य बदली रही प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । बुधबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ ।

यस्तै राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने मौसमविदले बताएका छन् । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै रुपन्देहीमा वर्षा भएको छ । रुपन्देशीको सूर्यपुरामा ५४ मिलिमिटर वर्षा भएको हो । यस्तै भैरहवामा ५२ मिलिमिटर, कपिलबस्तुमा ४१ मिलिमिटर तथा बाँकेमा ३० मिलिमिटर पानी परेको हो ।

प्रतिक्रिया दिनुहोस