काठमाडौं । सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने भएको छ । बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको हो ।
बाढीग्रस्त क्षेत्रका स्थानीय तहहरुले जग्गा उपलब्ध गराएको खण्डमा उक्त जग्गामा प्रदेश सरकारले पीडितका लागि आवास निर्माण गरिदिने वाग्मती प्रदेशको विपद् व्यवस्थापन निर्देशक समितिले निर्णय गरेको हो । बैठकले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा रहेको समितिले क्षतिको अवस्था हेरी तत्काल स्थानीय तहमार्फत राहत उपलब्ध गराउन लागेको हो । समितिले बाह्रबिसे नगरपालिकामा ३० लाख, भोटेकोशी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सो रकमबाट स्थानीय तहले प्रदेश सरकारले उपलब्ध गराएको कार्यविधिअनुसार राहत, घाइतेको उपचार, पुनस्र्थापना लगायतका काम गर्न सक्नेछ ।
यसअघि मृतकका परिवारलाई रु एक लाख राहत रकम उपलब्ध गराउने प्रदेश सरकारले गरेको निर्णयअनुसार राहत रकम तत्काल उपलब्ध गराइने समितिले जनाएको छ । आइतबारसम्म राहत रकम स्थानीय तहमा पठाइने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ । तीनजना प्रदेशसभा सदस्यलाई समितिको सदस्यमा मनोनीतसमेत गरिएको छ । मनोनीत गरिएका सदस्यहरुमा राजेन्द्रमान श्रेष्ठ, छिरिङदोर्जे लामा र इन्द्रमाया गुरुङ रहनुभएको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकाराम जम्मकट्टेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
काभ्रे बाढीपहिरो : सात महिनापछि निजी आवासको क्षति आकलन सुरु
बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माण
कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि ७ लाख ७७ हजार सहयोग
बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति
बाढीपहिरोबाट काभ्रेमा ४२ करोड बढीको क्षति
बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए