ओली, प्रचण्ड र नेपालबीच बालुवाटारमा छलफल जारी

सफल खबर संवाददाता

विहीबार, ०१ साउन २०७७, १२ : ४३
ओली, प्रचण्ड र नेपालबीच बालुवाटारमा छलफल जारी

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवाद मिलाउन शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल जारी छ ।

मंगलबार र बुधबार दुई अध्यक्ष ओली र दाहालबीच भएको छलफलमा विवाद समाधानमा ठोस सहमति नभएपछि बिहीबार नेपालसहितको त्रिपक्षीय संवाद सुरु भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

एजेन्डा र प्रधानमन्त्रीको राजीनामाको विषयमा नेकपामा अहिले दाहाल र नेपाल एउटै समूहमा छन् । १० असारबाट जारी स्थायी कमिटी बैठकमा दाहाल र नेपालले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् भने प्रधानमन्त्री ओलीले कुनै पनि पद नछाड्ने अडान दोहोराइरहेका छन् । बुधबार दाहालसँगको छलफलमा पनि प्रधानमन्त्री ओलीको यही अडान थियो । बरु उनले चाँडो महाधिवेशन गरेर पार्टीको नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीको राजीनामा माग्नेमा प्रचण्ड र नेपाल एउटै खेमामा छन्। पछिल्लो समय एक साताका लागि स्थगित भएको स्थायी समिति बैठक बस्नु अघिल्लो दिन भइरहेको तीन नेताहरूको छलफलले केही परिणाम निकाल्ने अपेक्षा गरिएको छ ।