चितवनमा दुई चार वटा विकासका काम गरेर उम्कने छुट मलाई छैन : प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, २७ असार २०७७, २० : ०१
चितवनमा दुई चार वटा विकासका काम गरेर उम्कने छुट मलाई छैन : प्रचण्ड

चितवन । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो गृहजिल्ला चितवनमा दुई चार वटा विकासका काम गरेर उम्कने छुट नभएको बताउनुभएको छ । 

चितवनको माडी नगरपालिकामा भएको भेटघाट कार्यक्रममा कार्यकारी अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मलाई मेरो क्षेत्रमा अथवा सिङ्गो चितवन जिल्लामा दुई चार वटा विकासका काम गरेर उम्कने छुट छैन ।’ उहाँले आफू नेकपाको कार्यकारी अध्यक्ष भएको र दुई चोटी प्रधानमन्त्री पनि भइसकेको नाताले मलाई दुई चार वटा विकासका काम गरेर छुट नहुने बताउनुभयो । 

चितवनको माडीको वसन्तपुरमा भएको भेटघाट कार्यक्रममा कार्यकारी अध्यक्ष प्रचण्डले सुःख दुःखमा जनतालाई साथ दिन आफू चितवन आएको बताउँदै भन्नुभयो, ‘म मेरो क्षेत्रमा के काम भयोृ, के काम भएन भनेर हेर्न आएको हो, धेरै काम भइरहेको पाएँ, अझै धेरै गर्नुछ भन्ने मलाई लागेको छ ।’ 

कार्यक्रममा उहाँले माडीमा बाढीका कारण दुई जनाको ज्यान गएको घटनाले आफूलाई ज्यादै दुखित भएको बताउँदै भन्नुभयो, ‘पीडित परिवारलाई जनता आवास कार्यक्रममार्फत घर बनाइदिन म यहीँबाट प्रतिबद्धता गर्दछु ।’ उहाँले पीडित परिवारलाई क्षतिपूर्ति, राहतलगायतका अभावहरुलाई तत्काल संवोधन गर्न माडी नगरपालिका र जिल्ला प्रशासन कार्यलय चितवनलाई निर्देशन दिनुभएको छ । 

कार्यक्रममा अध्यक्ष प्रचण्डले माडी जाने निकुञ्जको सडकमा आकाशे पुलको अध्ययन तथा डिपिआरको लागि एक करोड बजेट छुट्टिएको बताउँदै भन्नुभयो, ‘अब आकाशे पुलको निर्माणको प्रक्रिया अघि बढ्यो, ढुक्क हुनूस् आकाशे पुल अब ढिलो चाँडो बन्छ । उहाँले अबको बाँकी अढाइ वर्षको अवधि अर्थात अर्को चुनाव आउने बेलासम्म माडीको धेरै नै विकास हुने बताउनुभयो । 
उहाँले माडी प्रवेशको लागि निकुञ्जमा आकाशे पुल बनाउने, २०२९ सालको निकुञ्ज ऐन संशोधन गर्ने, यहाँको सुकुमबासी समस्या समाधान गर्ने, यहाँको ठाडा खोलाहरुको तटबन्ध गर्ने, माडीको रिङ रोड बनाउने आफ्नो सपना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई विश्वास छ, अबको अढाइ वर्षमा म मेरा सपनालाई पूरा गर्छु ।’

उहाँले छिटपुट एक दुई वटा कामभन्दा पनि दीर्घकालीन सम्झन लाग्ने काम गरेर देखाउने प्रतिबद्धता गर्नुभएको छ । ‘माडीको बाँदरझुलाको समस्या समाधान गर्न, निकुञ्ज ऐन संशोधन गर्न, यहाँका सडक कालोपत्रे गर्न र रिउ खोलाको करिडोर सम्पन्न गर्न म लाग्नेछु’ उहाँले भन्नुभयो, ‘माडीले सम्झिराख्ने काम गर्नेछु ।’

माडीलाई पर्यटकीय गन्तव्य बनाउन सोमेश्वर गढीलाई एक सय पर्यटकीय गन्तव्य भित्र पारेको सम्झना गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘माडीका लागि जेजे आवश्यक छ, म पूरा गर्दै जान्छु ।’ 
कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीको समस्यार हाल भइरहेका कामको बारेमा जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल, बागमती प्रदेश सांसद घनश्याम दाहाल अविनास, रामलाल महतो, विजय सुवेदी, कृष्ण भुर्तेल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलगायतको उपस्थिति थियो । कार्यक्रम नेकपाका माडी अध्यक्ष प्रभुप्रसाद महतोको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस