प्रचण्ड–ओली बिच बालुवाटारमा निर्णायक छलफल हुँदै, सहमती नभए पार्टी विभाजन निश्चित

‘नेकपा फुटिसक्यो, घोषणा कसले गर्ने मात्र बाँकी हो’

सफल खबर संवाददाता

आइतबार, २१ असार २०७७, ०९ : २३
प्रचण्ड–ओली बिच बालुवाटारमा निर्णायक छलफल हुँदै, सहमती नभए पार्टी विभाजन निश्चित

काठमाडौं । सत्तारुढ दल नेकपा विभाजनको संघारमै रहेका बेला प्रधानमन्त्री केपी ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डका बीचमा आज निर्णायक छलफल हुने भएको छ । एक दिन छलफल गरी विवाद समाधानको सूत्रको खोजी गर्ने भन्दै शुक्रबार एक दिनका लागि स्थगित गरिएको नेकपा स्थायी समिति बैठक शनिबार फेरि भोलि सम्मका लागि सार्ने गरी स्थगित गरिएको थियो । 

तर पनि यो बीचमा ओली र प्रचण्डका वीचमा छलफल भएन् । आज दुवैले निर्णायक छलफल गर्ने भएका छन् । दुई अध्यक्षका बीचमा आजको छलफल सकारात्मक नभए सत्तासिन दल नेकपा करिब विभाजनमा पुग्नेछ । विभाजन रोक्न नेकपाका दोश्रो र तेश्रो पुस्ताका नेताहरु निक्कै दौडधुपमा लागेका छन् । तर ओली र प्रचण्ड नेपाल समुह कुनैले पनि आफ्नो अडान छोडेका छैनन् । 

पार्टीका नेताहरुले नक्सा सार्वजनिक गर्न आग्रह गर्दा पनि अटेर गर्दै आएका प्रधानमन्त्री ओली पार्टीको निर्णय पछि मात्र लिम्पियाधुरासम्मको राजनीतिक नक्सा सार्वजनिक गर्न तयार भएका थिए । तर यो तथ्यलाई सर्वसाधारणका अगाडी छोपेर आफ्नो स्वेच्छाचारिताका विरुद्द पार्टीभित्र उठेको असन्तुष्टिलाई उनले राष्ट्रियताको लेपनले छोप्ने प्रयास गर्दै आईरहेका थिए । त्यही क्रममा उनले आफ्नो अप्ठयारो छेक्न राष्ट्रियताको कार्ड समेत प्रयोग गरे । उनले १४ असारको एक कार्यक्रममा नक्सा जारी गरेपछि आफुलाई हटाउन भारतीय दुतावास समेत सक्रिय भएर लागेको मात्र बताएनन्, त्यसमा आफनै पार्टी नेता लागेको समेत प्रतिक्रिया दिए । 

पार्टी बैठकमा नक्सा सार्वजनिक गर्न नेताहरुले आग्रह गर्दा अटेरी गर्ने र पार्टीको निर्देशनमा नक्सा सार्वजनिक भएपछि त्यसलाई आफुले मात्र सार्वजनिक गरेको र अन्य नेताहरु आफनो सरकार ढाल्न विदेशीको योजनामा षडयन्त्रमा लागेको आरोप लगाएपछि उनको पार्टीभित्रै निक्कै आलोचना भयो । आलोचना यति हदमा भयो की, उनले न सरकार न पार्टी नै चलाउन अब सक्छन, त्यसैले दुवै पदबाट राजीनामा दिनुपर्छ भन्ने आवाज नेकपाको स्थायी समिति बैठकमा उठ्यो । 

कुल ४४ सदस्यमध्ये ३० जना नेताले ओलीको स्वेच्छाचारिता विरुद्ध बोले । उनले राजीनामा दिनुपर्ने मत राखे । त्यसपछि ओली पार्टी बैठकमै नजाने, स्थायी समितिलाई हुलहुज्जत सम्म भन्न भ्याए । अहिले उनी खुल्लमखुल्ला भन्दैछन्, म पार्टीको निर्णय मान्दिन् । ओलीको यो हठका कारण अझै ओलीलाई सरकार र पार्टी नेतृत्वमा राख्ने काम देश र पार्टीकै लागि ठिक नहुने भन्दै नेकपाभित्र अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापा लगायतका नेताहरु लागिपरेका छन् । पार्टीको निर्णय सबैले मान्नुपर्ने तर्क यो समुहले गरिरहेको छ ।

तर ओली त्यसलाई स्वीकार नगर्ने, बरु प्रतिवाद गर्ने बताईरहेका छन् । प्रचण्डसँगको छलफलमा उनले दुवै पद नछोड्ने अडान मात्र लिईरहेका छैनन्, जे गर्न मन लाग्छ गर्न खुल्ला चुनौति नै दिएका छन् । यसले नेकपा करिव फुटको संघारमा छ ।  यही फुटलाई जोगाउन प्रचण्ड निरन्तर छलफलमा छन् । उनले आजै ओलीसँग पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने भएका छन् । त्यसैका लागि अहिले बिहान १० बजे दुवै अध्यक्षका बीचमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुदैंछ । ‘अहिले उहाँहरु बीच छलफल हुने समय निर्धारण भएको छ, त्यो छलफल पछि अब कसरी जाने भन्ने एउटा दिशा आउन सक्छ’, प्रवक्ता श्रेष्ठले भने । 

तर कतिपय नेता कार्यकर्ताले दुई अध्यक्षको यो भेटवार्ता मात्र औपचारिकताका लागि हुन लागेको बताएका छन् । नेकपा करिव फुटिसक्यो, प्रधानमन्त्रीले पार्टी निर्णय मान्न गरेको आनाकानी र उनले गरेका तयारी हेर्दा नेकपा करिब फुटिसक्यो, घोषणा कसले गर्ने भन्ने मात्र हो, नेकपाका एक स्थायी समिति सदस्यले भने, अहिले बिहान दुई अध्यक्षको निर्णायक छलफल पार्टी एकताको पक्षमा पुग्नका लागि कुनै चमत्कार नै हनुपर्छ । तर त्यो सम्भावना कमजोर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस