प्रोत्साहन भत्ता माग गर्दै कृषि विश्वविद्यालयमा तालाबन्दी

विहीबार, १८ असार २०७७, १५ : १०
प्रोत्साहन भत्ता माग गर्दै कृषि विश्वविद्यालयमा तालाबन्दी

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय रामपुरमा कार्यरत १७ जना कर्मचारीले अतिरिक्त प्रोत्साहन पारिश्रमिक माग गर्दै कार्यालयमा तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलियाले कर्मचारीले प्रोत्साहनभत्ता माग गरी बुधबार तालाबन्दी गरेका बताउनुभयो । उहाँलाई विश्वविद्यालयको अर्को व्यवस्था नभएसम्मका लागि उपकुलपतिको जिम्मेवारी दिइएको छ । विश्वविद्यालयले अतिरिक्त पारिश्रमिक दिन नमानेपछि तालाबन्दी गरेको कर्मचारीले जनाएका छन् ।

विश्वविद्यालयले केन्द्रीय कार्यालयमा कार्यरत अधिकृतभन्दा माथिका कर्मचारीलाई तलबको २० प्रतिशत र सहायक स्तरकालाई २५ प्रतिशत अतिरिक्त पारिश्रमिक दिँदै आएको बताइएको छ ।  उनीहरुले चालू आर्थिक वर्षको असोजसम्मको अतिरिक्त पारिश्रमिक लिएको र  त्यसपछिको पारिश्रमिक माग गरेको बताएका छन् ।  उनीहरुले लकडाउनको तीन महिनाको  पारिश्रमिक नलिने जनाएका छन् ।