कोरोना भाइरस महमारी : यो बेला किन अधिकांश मृत्यु कोभिड-१९ बाहेक अन्य कारणले हुनेछ ?

एजेन्सी

शुक्रबार, २३ जेठ २०७७, १४ : २९
कोरोना भाइरस महमारी : यो बेला किन अधिकांश मृत्यु कोभिड-१९ बाहेक अन्य कारणले हुनेछ ?

जारिया गोर्भेट
बीबीसी फ्यूचर

गिनीमा वनभित्र भएको मेलीयान्डू गाउँमा दुई वर्षका एमिल उयोमोनो घरनजिकै रूखको टोड्कोमा खेल्न औधी रुचाउँथे।

उक्त रूखमा चमेरा र अन्य पशुपक्षी पनि आश्रित थिए। कहिलेकाही केटाकेटीहरू चमेरा समाउँथे र खानासँगै पकाएर खान्थे।

त्यसपछि एमिल बिरामी भए। सन् २०१३ को डिसेम्बर २८ मा अनौठो रोग लागेर उनको ज्यान गयो। त्यसपछि उनकी आमा, बहिनी र हजुरआमाको पनि मृत्यु भयो। उनीहरूको अन्तिम संस्कारपछि उक्त रोग बिस्तारै फैलिन थाल्यो।

मार्च २३ २०१४ सम्म ४९ जनामा रोग देखियो। तीमध्ये २९ जनाले ज्यान गुमाए। वैज्ञानिकहरूले इबोला भाइरसको सङ्क्रमण फैलिएको त्यति बेलै पुष्टि गरेका थिए।

त्यसपछिको साढे तीन वर्षसम्म विश्वलाई त्रस्त बनाएको उक्त भाइरसले ११,३२५ जनाको ज्यान लियो।

तर त्यसो भइरहँदा अर्को विपद् पनि आयो। इबोला महामारीका कारण स्थानीय स्वास्थ्यसेवाले ठूलो क्षति बेहोर्नुपर्‍यो। स्वास्थ्यकर्मीले ज्यान गुमाए, ठूलो सङ्ख्यामा अस्पताल बन्द भए र खुल्ला अस्पतालहरूले पनि इबोलाका कारण उत्पन्न चाप धान्न सङ्घर्ष गर्नुपर्‍यो।

सबैभन्दा बढी प्रभावित सिएरा लिओन, लाइबेरिया र गिनीमा मानिसहरूले स्वास्थ्यसेवालाई बेवास्ता गर्न थाले। उनीहरू नयाँ रोगसँग मात्र हैन, चिकित्सकहरूसँग पनि डराएका थिए।

व्यक्तिगत सुरक्षाका लागि विशेष पोसाक लगाउँदा डरलाग्दा देखिएका चिकित्सकहरूको नाम आकस्मिक रूपमा भइरहेका मृत्युसँग जोडिएको मात्रै थिएन, उनीहरूलाई बदनाम पनि गरिएको थियो।

परिणामस्वरूप सन् २०१७ मा गरिएको एउटा अध्ययनले महामारीका कारण स्वास्थ्यसेवाको लोकप्रियतामा नाटकीय रूपमा कमी आएको देखायो। गर्भवतीहरूले सन्तान जन्माउनका लागि उपचार खोज्ने प्रवृत्ति ८० प्रतिशतले कम भएको थियो। खोप लगाउने दर घटेको थियो भने औलो लागेका ४० प्रतिशतभन्दा कम बालबालिकामात्रै अस्पताल गएका थिए।

महामारी नियन्त्रणका लागि व्यापक अन्तर्राष्ट्रिय प्रयास भए। तर उक्त सङ्क्रमणले निम्त्याएको क्षति रोगभन्दा खतरनाक थियो।

सन् २०२० मा विश्वले त्यस्तै देख्नुपर्ने परिस्थिति उत्पन्न भएको छ।

एउटा मात्रै शत्रु नभएको अवस्था
सुरुमा धेरै राष्ट्रले आफ्ना नागरिकलाई कोभिड-१९ लाई प्राथमिकतामा राखिएको र अस्पतालमा शय्या र भेन्टिलेटर विस्तारजस्ता कामलाई प्राथमिकतामा राखिएको बताए। प्रमाणित नभए पनि ठूलो परिमाणमा औषधिहरू भण्डारण गरियो।

अनि चिकित्सकहरूलाई अस्पतालको श्वासप्रश्वास वार्डमा खटाइयो।

तर भयावह स्थिति नदेखिँदा प्राय: सबै काममा विलम्ब भयो वा बेवास्ता गरियो। तिनमा कतिपय शल्यक्रियादेखि प्रजनन स्वास्थ्य सेवासम्म पर्छन्। धूम्रपान नियन्त्रण कार्यक्रम, मानसिक स्वास्थ्य सेवा, खोप, दाँतको उपचार, झाडापखालाको उपचार, क्यान्सरको जाँच र नियमित स्वास्थ्य जाँच प्रभावित भइरहेका छन्।

सबैको ध्यान एउटै मात्र शत्रुमा केन्द्रित हुँदा त्यसले डरलाग्दो नकारात्मक परिणाम दिन थालिसकेको छ।

विश्वभरि बिरामीहरू क्यान्सरको उपचारबाट वञ्चित भएका, मिर्गौलाको डाईयालिसिस र प्रत्यारोपणसँग सम्बन्धित आकस्मिक शल्यक्रिया गर्न नपाएका र त्यसले कहिलेकाहीँ घातक परिणाम दिएका विवरण आएका छन्।

बाल्कन क्षेत्रमा महिलाहरूलाई जोखिमपूर्ण ढङ्गले आफैँ गर्भपतन गर्न लगाइएको छ। संयुक्त अधिराज्यमा दाँत मिलाउने उपचार विधि अपनाइरहेका मानिसहरूमा आफ्नै तरिकाले चुइङ्गम, तार काट्ने औजार अनि सुपरग्लूको प्रयोग गर्ने क्रम बढेको विज्ञहरूले बताएका छन्।

अझ विपन्न देशमा अहिलेको महामारीले अवस्था थप कष्टकर बनाएको छ।

वैज्ञानिकहरूले एचआईभी, क्षयरोग र औलो नियन्त्रणमा कतिपय ठाउँमा अहिले देखिएको अवरोधले भाइरसले प्रत्यक्ष रूपमा पुर्‍याउने तहकै क्षति निम्त्याउने चेतावनी दिएका छन्। विज्ञहरूले हैजाजस्ता महामारीका कारण ज्यान गुमाउनेको सङ्ख्या कोभिड-१९ कै परिमाणको हुने आशङ्का व्यक्त गरिरहेका छन्।

मुख्य रूपमा खोप अभियानबारे चिन्ता व्यक्त भएको छ। विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस महामारीका कारण ६८ देशमा खोप कार्यक्रम प्रभावित हुँदा एक वर्षमुनिका आठ करोड बालबालिका दादुरा, भ्यागुते रोग र पोलियोजस्ता रोगको जोखिममा परेको चेतावनी दिएको छ।

अप्रत्यक्ष क्षति
विश्व खाद्य कार्यक्रमले विगतमा कहिल्यै नदेखिएको तहको भोकमरीको सँघारमा विश्व भएको चेतावनी दिएको छ। उसका अनुसार १३ करोड मानिस भोकमरीमा पर्ने र थप साढे १३ करोड मानिस पनि त्यसको जोखिममा भएको जनाएको छ।

विश्वभरि लगाइएको लकडाउन र त्यसले अर्थतन्त्रमा पार्ने गम्भीर आघातका कारण कतिपय मानिसमा मदिरा सेवन र आत्महत्याको प्रवृत्ति पनि विकसित हुन सक्ने ठानिएको छ।

अमेरिकास्थित जोन्स हप्किन्स यूनिभर्सिटीका सङ्क्रामक रोग विशेषज्ञ टिमोथी रोबर्टन महामारी सुरु हुनेबित्तिकै यसका नकारात्मक असरले आफू र आफ्ना साथीहरूलाई चिन्तित बनाउने बताउँछन्।

"हामीमध्ये धेरैले पश्चिम अफ्रिकामा इबोलापछि जनाइएका प्रतिक्रिया देख्यौँ। त्यही भएर हामीलाई के हुन सक्छ भन्ने थाहा थियो।"

उनी र उनको टोलीले कम आय भएका देशमा कोभिड-१९ ले महिला र बालबालिकामा पार्न सक्ने प्रभावको अध्ययन गरेको छ। वैज्ञानिकहरूले सबैभन्दा खराब अवस्थामा स्वास्थ्य सेवाको प्रयोग ५० प्रतिशतसम्मले घट्ने र त्यही मात्रामा कुपोषण बढ्न सक्ने चेतावनी दिएका छन्।

महामारीको अप्रत्यक्ष प्रभावले १० लाखभन्दा बढी बालबालिका र ५६,७०० आमाहरूले ज्यान गुमाउन सक्ने भनिएको छ। अधिकांश बालबालिकाले निमोनिया र झाडापखालाका कारण र महिलाले प्रसूतिसम्बन्धी जटिलताका कारण ज्यान गुमाउने वैज्ञानिकहरूको भनाइ छ।

विश्व खाद्य सङ्गठनले अहिले दैनिक १० करोड मानिसलाई खानेकुरा उपलब्ध गराइरहेको छ र त्यसमध्ये तीन करोड मानिस उक्त सहयोगमा निर्भर छन्। उक्त संस्थाको विश्लेषणअनुसार नियमित सहायता उपलब्ध गराउने क्षमतामा अवरोध भएको अवस्थामा आगामी महिनाहरूमा दैनिक तीन लाख जनाले ज्यान गुमाउन सक्छन्।

कोरोनाभाइरसले वृद्धवृद्धालाई बढी असर गरिरहेको सर्वविदित छ। तर जुन परिमाणमा मानवीय क्षति भएको तथ्याङ्क आएको छ, त्यो आश्चर्यजनक छ। मे १३ यता न्यूयोर्क सहरको तथ्याङ्कमा ७५ वर्ष र त्यसभन्दा बढी उमेरका ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १७ वर्षसम्म उमेर भएका व्यक्तिसँग तुलना गर्दा ८११ गुना बढी छ।

मीडीअन एज अर्थात् मध्यस्थ उमेर १५.२ वर्ष भएको पश्चिम अफ्रिकी देश नाईजरमा अहिलेको महामारीबाट २५० भन्दा बढी मानिसको मृत्यु भएको विवरण आएको छ। त्यसको विपरीत उक्त उमेर ४५ वर्ष भएको इटलीमा ३३,००० भन्दा बढीको ज्यान गइसकेको छ।

महामारीकै कारणले मात्र यो स्तरको मानवीय क्षति भएको हो वा होइन भन्नेमा बहस भइरहे पनि जेष्ठ नागरिकहरू अन्य नियमित मौसमी र श्वासप्रश्वाससम्बन्धी रोगका कारण पनि जोखिममा रहेका बताइन्छ।

अहिले प्रत्येक महिना हुने नियमित मृत्युभन्दा ज्यान गुमाउनेको सङ्ख्या बढी देखिन्छ।

तर पछि कुल औसतमा पनि त्यस्तो देखियो भने भाइरसले जेष्ठ नागरिकको मृत्युलाई महिना वा वर्षले घटाएको मान्नुपर्ने हुनसक्छ।

अन्तिममा ठूलो आर्थिक मन्दीको विषय छ जुन जर्मनीमा औपचारिक रूपमा नै सुरु भइसकेको छ र यो दोस्रो विश्वयुद्ध अघिको ‘द ग्रेट डिप्रेशन’ यताको सबैभन्दा कठोर हुने बताइएको छ।

साना-ठूला कैयौँ स्वास्थ्यसंस्था दाता र सर्वसाधारणको सहयोगमा चलिरहेका हुन्छन्। त्यही भएर आर्थिक मन्दीको अर्थ उनीहरू आफ्ना काम र प्राज्ञिक अनुसन्धानका प्रयासबाट वर्षौँसम्म पछि हट्न सक्छन्।