पूर्वी नवलपरासीका कोरोना संक्रमित भारतबाट अवैध बाटो हुँदै आएको खुलासा

सफल खबर संवाददाता

विहीबार, ०१ जेठ २०७७, १३ : १६

चितवन । नवलपुर (पूर्वी नवलपरासी) का पहिलो कोरोना संक्रमित भारतबाट अवैध बाटो हुँदै आएको खुलेको छ । उनी रक्सौल हुँदै गत वैशाख ३० गते जिल्ला आएको पाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

ट्रक चढेर नवलपुर पुगेका उनलाई स्थानीयले भारतबाट आएको थाहा पाएपछि सोही दिन प्रहरीको सहयोगमा चितवनको भरतपुरस्थित कोरोना अस्पताल पठाइएको थियो । 

उनी भारतको कलकत्तामा बस्दै आएको खुल्न आएको भरतपुर कोरोना विशेष अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले जानकारी दिए । 

लकडाउन लम्बिएपछि उनी सीमासम्म कतै हिँडेर र कतै गाडीमा आइपुगेका थिए । त्यसपछि उनी प्रहरीको आँखा छल्दै अवैध बाटो हुँदै नेपाल प्रवेश गरेका थिए । 

उनका अनुसार उनको स्वाब बिहीबार परीक्षण भएकोमा कोरोना संक्रमण पुष्टि भएको हो । अहिले उनी अस्पतालकै आइसोलेसन कक्षमा रहेको र अवस्था सामान्य रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस