ठुलो संख्यामा नमूना परीक्षण हुँदै , तीन दिनमा पाँच हजारको नमूना सङकलन गर्न टोली परिचालन

सफल खबर संवाददाता

शनिबार, २७ बैशाख २०७७, १७ : ०९

काठमाडौँ । सरकारले कोभिड १९ को संक्रमण रोक्ने उद्देश्यले ठुलो संख्यामा नमूना परिक्षण गर्न थालेको छ । तीन दिनमा ५ हजार ३२० बढी नमुना संकलन गर्ने लक्ष्यसहित टोली परिचालन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर रौतहट, पर्सा, बारा र पाँच नम्बर प्रदेशका जिल्लाहरुमा यसरी टोली परिचालन गरेर नमूना लिन थालेको हो । त्यसमा नेपाली सेनाका चिधित्सक समेत छन् ।

“उक्त टोलीले हालसम्म ४०० को नमुना परिक्षण गरिसकेको छ । तीन दिनमा ५ हजार गर्ने लक्ष्य सहित टोली खटाइएको हो”, मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भने । 
मुख्यगरी संक्रमण बढी फैलिएको क्षेत्रलाई लक्षित गरिएर टोली खटाइएको छ । मानिसबाट मानिसमा थुक या छिटाको माध्यामबाट रोग सर्ने भएकाले संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेकाहरुको नमूना परीक्षणमा सरकारले ध्यान दिएको छ । मुलुकका अहिलेसम्म कोभिड १९ का १०९ जना विरामी भेटिएका छन् । त्यसमध्य ३१ जना भने निको भइसकेका छन् ।

“परीक्षणको दायरा बढाउँदै छौँ, अत्यावश्यक सेवा सञ्चालन भइरहेको र केही सेवा सुचारु गर्ने मन्त्रीपरिषदको निर्णय भएकाले अब त्यस्ता ठाउँमा आउँदा जाँदा दुरी कायम गर्ने र त्यस्ता सामान घरमा भित्र्याउँदा राम्ररी सरसरफाई गर्न र भौतिक दुरी कायम गर्न तथा साबुन पानीले हात धुन अनुरोध गर्दछु”, डा देवकोटाले आम समुदायसँग अपिल गरेका छन् । 

हालसम्म ७२ हजारको नमूना परीक्षण 
हालसम्म मुलुकभर सिसिआर विधिबाट १६ हजार ३०९ र आरडिटी विधिबाट कुल ५५ हजार ९३० गरी झण्डै ७२ हजारको नमूना परषिण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हनार ७४२ को परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ७ हजार ५५, प्रदेश २ मा ५ हजार ८९०, बाग्मती ९ हजार १०५, गण्डकीमा ६३७७, प्रदेश ५ मा ६६३८, कर्णालीमा ६१७४ र  सुदुर पश्चिम प्रदेशमा १४ हजार ६९१ ज्नाको परीक्षण भएको छ ।
क्वारेन्टाइनमा १४ हजार ५९२ जना छन् । आईसोलेसनमा १४३ छन् । जसमा काठमाडौँमा २ छन् । उनीहरु संकास्पद संक्रमित पनि हुन् । कल सेन्टरमा २४ घण्टामा १९ सय ५ वटा कललाई सम्बोधन गरिएको छ । हलसम्म ३४ हजार ५१ ले आफ्नो स्वास्थ्य  विवरण भरेका छन् । २४ घण्टामा थप ४ जना रेड जोनमा छने भने हालसम्म ३४० जना रेड जोनमा परेको जनाइएको छ । 

३५ दिनमा डिस्चार्ज
गएराती सेती अस्पतालमा कैलालीमा उपचाररत रहेकी एक महिला घर फर्किएकी छिन् । उनी ३५औँ दिनमा अस्पतालबाट डिस्चार्ज भएकी हुन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ३१ जना पुगेको छ । हालसम्म संक्रमित १०९ जना पुगेका छन् । पुरुष ७८ जना छन् । मानिसको चहलपहल बढेसँगै सतर्कता अपनाउनुपर्ने हुन्छ । यसको नियन्त्रण र रोकथाममा सबै जिम्मेवार बनेर सहयोग गर्न समेत उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस