आरडीटी परीक्षण बन्द गर्न माग

सफल खबर संवाददाता

शुक्रबार, २६ बैशाख २०७७, १२ : ३६
आरडीटी परीक्षण बन्द गर्न माग

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले कोरोना भाइरसको संक्रमित पत्ता लगाउनका लागि सरकारले गर्दै आएको द्रुत परीक्षण (आरडीटी) तत्काल बन्द गर्न माग गरेका छन् । गजुरेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै परीक्षणको आरडीटी विधिलाई बन्द गरी पीसीआर विधिको प्रयोग गर्न सरकारसमक्ष माग गरेका हुन् । 

उनले परीक्षण र अन्य स्वास्थ सामग्रीको तुरुन्त व्यवस्था गरिनुपर्नेमा पनि जोड दिएका छन् । 

सरकारले विगतमा गरेका कतिपय गम्भीर गल्ती कमजोरीका कारण आज कोरोना भाइरस नेपालमा पनि तीब्ररुपमा फैलिरहेको भन्दै उनले  संक्रमण समुदायमा फैलने चरणमा प्रवेश गरेको उल्लेख गरेका छ । ‘यसको रोकथाम र नियन्त्रणलाई सर्बोपरि राखी आगामी बजेटमा रकमको व्यवस्था गरिनु पर्दछ । परीक्षण, ट्रेसिङका लागि आवश्यक सम्पूर्ण व्यवस्था गरी यसलाई तीब्रता दिइनु पर्दछ । यसमा हुने ढिलाई क्षम्य हुन सक्दैन’, गजुरेलको विज्ञप्तिमा भनिएको छ ।

उनले  लकडाउन लागु गर्दा समेत भेदभाव गर्न नहुने भन्दै सबैकालागि समान रुपमा लागु गरिनु पर्नेमा जोड दिएका छन् । यस्तै दैनिक श्रमगरेर धानिने र तल्लो वर्गका जनताको, बेरोजगारहरुको  खाने र अन्य दैनिक समस्याको व्यवस्था अनिवार्यरुपमा गरिनु पर्ने भन्दै गजुरेलले  वितरण गरिने राहत पनि सबैलाई समान रुपमा वितरण गरिनु पर्नेमा जोड दिएका छन् । 

विज्ञप्तिमा नेपालको सिमानामा आएर अलपत्र परेका नेपाली नागरिकहरुलाई सुरक्षित क्वारेण्टाइनमा राख्ने व्यवस्था मिलाई नेपाल ल्याउने व्यवस्था गर्न सरकारसँग माग गरिएको छ । 

यसैबीच नेकपा क्रान्तिकारी माओवादीका नेता समेत रहेका उनले युद्ध कालका मुद्दालाई सत्य निरुपण आयोग र बेपत्ता छानविन आयोग मार्फत टुंग्याउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।