एजेन्सी । एक समयमा भारत भर निकै ख्याति कमाएका बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ । उनको ६७ वर्षको उमेर आज बिहीबार बिहान निधन भएको हो ।
मंगलबार उनको स्वास्थ्य अवस्था बिग्रिएपछि मुम्बईको एचएन रिलायंस फ़ाउंडेशन अस्पतालमा भर्ना गरिएको छ । उनको उपचारको क्रममा निधन भएको हो । हिजो बुधबार मात्रै भारतकै चर्चित अभिनेता इरफान खानको निधन भएको थियो । दुई दिनको फरकमा बलिउडले लगातार दुई सुपरस्टार गुमाएको हो ।
अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । त्यतिबेला उनले ‘११ महिना ११ दिनपछि घर फर्किएँ’ भन्दै ट्वीट गरेका थिए । गत फेब्रुअरीमा पनि उनी दुई पटक अस्पताल भर्ना भएका थिए । सुरुमा दिल्ली जाँदा उनलाई ‘इन्फेक्सन’ले सताएको थियो भने मुम्बई फर्किएपछि ज्वरो आएको थियो ।
सामाजिक सञ्जालमा निकै सक्रिय ऋषिले अप्रिल २ यता केही पोस्ट गरेका थिएनन् । त्यसअगाडि उनले दीपिका पादुकोणसँग फिल्म खेल्न लागेको घोषणा गरेका थिए । यो फिल्म हलिउड फिल्म ‘द इन्टर्न’को हिन्दी रिमेक हुने बताइएको थियो । अमेरिकाबाट फर्किएपछि जुही चावलासँग ‘शर्माजीकी नम्किन’को सुटिङ गरेका थिए तर स्वास्थ्यमा समस्या आएपछि बीचमै सुटिङ रोकिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
६७ वर्षीय ऋषिको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो । ऋषि कपूरकी पत्नी नितू कपूर बलिउडकी अभिनेत्री हुन् । त्यस्तै छोरा रणबिर कपूर बलिउडका चर्चित अभिनेता हुन् भने छोरी रिद्दीमा कपूर सहनी फेसन डिजाइनर हुन् ।
प्रतिक्रिया दिनुहोस