नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार राष्ट्रका नाममा सम्वोधन गर्नुहुने भएको छ । सरकारले लागु गरेको २१ दिने देशव्यापी लकडाउनको अन्तिम दिन भएकाले उहाँले मङ्गलबार सम्वोधन गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्री मोदीले स्थानीय समय अनुसार मङ्गलबार विहान १० बजे सम्वोधन गर्नुहुने भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
सम्वोधनका क्रममा प्रधानमन्त्री मोदीले लकडाउनको पालना गरिदिएकोमा आम नागरिकलाई धन्यवाद दिदै थप दुई हप्ता लम्याउने घोषणा गर्नुहुने अपेक्षा गरिएको छ । लकडाउनको थपिएको अवधिमा केही आर्थिक कृयाकलापलाई भने खुकुलो पारिने अधिकारीहरुले जानकारी दिएका छन् । “प्रधानमन्त्री नरेन्द्र मोदीले १४ अप्रिलका दिन विहान १० बजे राष्ट्रका नाममा सम्वोधन गर्नुहुने भएको छ,” प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ ।
अधिकांश मुख्यमन्त्रीहरुले पनि लकडाउनको अवधि बढाउनु पर्ने सुझाव दिएकाले त्यस कुरालाई मध्यनजर गरिने कार्यालयका अधिकारीहरुको भनाई छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सामाजिक दुरी कायम राख्नु नै मुख्य उपाय भएकाले लकडाउनको थप आवश्यकता रहेको ठानिएको छ । मुख्यमन्त्रीहरुसँगको गत शनिबारको भिडियो बैठकमा लकडाउनलाई लम्व्याउनु पर्नेमा सवैको एक मत रहेको जनाइएको छ । लकडाउन घोषणा गर्दा प्रधानमन्त्री मोदीले स्वास्थ्य नै धन भएको भन्दै अहिले कमाउनभन्दा ज्यान जोगाउन ध्यान दिन आग्रह गर्नुभएको थियो ।
भारतको उज्ज्वल भविश्य, सम्वृद्धि र स्वच्छ भारतका लागि सवैले लकडाउनको पूर्ण पालना गर्नु पर्नेमा प्रधानमन्त्री मोदीले जोड दिनुभएको थियो । भारतका सात राज्यहरु महाराष्ट्र, ओडिसा, पन्जाव, पश्चिम बंगाल, कर्नाटक, तमिल नाडु र तेलंगनाले कम्तीमा यही अप्रिल ३० सम्म लकडाउन लम्व्याउने घोषणा यसअघि नै गरीसकेका छन् । भारतमा गत मार्च २५ तारिखदेखि देशव्यापी लकडाउन लागु भएको छ । लकडाउनलाई कडा बनाउन लकडाउन उलङ्घन गरेको हजाराँैलाई प्रशासनले कारबाही पनि गरेको छ ।
प्रधानमन्त्री मोदीले कोरोना विरुद्धको लडाई र लकडाउनलाई प्रभावकारी बनाउने विषयमा मुख्यमन्त्रीहरुसँग पटक पटक भिडियो बैठक गर्नु भएको छ भने उहाँले मन्त्रीपरिषद् बैठक पनि भिडियोबाटै गर्नुभएको छ । त्यसैगरी भारतको संसदमा प्रतिनिधित्व गरेका दलका नेताहरुसँग पनि प्रधानमन्त्री मोदीले छलफल गरेर सहकार्यका लागि आग्रह गर्नुभएको छ ।
भारतका केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार देशभरी कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३०८ पुगेको छ । त्यसैगरी सङ्क्रमित हुनेको सङ्ख्या नौ हजार १५२ पुगेको पनि मन्त्रालयले जनाएको छ । (पिटिआई)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भारतमा रेल दुर्घटना, ११ जनाको मृत्यु
भारतमा साँढे जुधाईः सात जनाको मृत्यु, ४०० घाइते
भारतको इन्दौरलाई ‘भिखारी मुक्त’ बनाइँदै, भिक्षा दिनेलाई पनि कारबाही हुने
नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि
भारत र मलेसियाका लागि राजदूत नियुक्त
नेपाल–भारतबिच अन्तर्देशीय पर्यटन प्रवर्द्धन