कोरोनाभाइरसको संक्रमणबाट हालसम्म १४ नेपालीको मृत्यु

आइतबार, ३० चैत्र २०७६, ११ : १०
कोरोनाभाइरसको संक्रमणबाट हालसम्म १४ नेपालीको मृत्यु

काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट हालसम्म १४ नेपालीको मृत्यु भएको छ भने ६७५ बढी संक्रमित भएका छन् । कतिपयले यसको संक्रमण लुकाउँदा विवरण संकलनमा समस्या भएको एनआरएनएले जनाएको छ । 
  
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको मृत्यु भएको हो । 

यस्तै ६ सय ७५ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए ।  उनकाअनुसार अमेरिकामा ५ सय बढी नेपाली संक्रमित भएका छन् भने बेलायतमा १ सय बढी संक्रमित रहेका छन् । 

यस्तै स्पेनमा १८, जर्मनीमा ४, पोर्चुगलमा २२, अस्ट्रेलियामा ९, युएईमा १०, साउदी अरेबियामा ४, कुवेतमा ५, जापानमा १, मलेसियामा १ र हङकङमा १ जनामा संक्रमण पुष्टि भएको छ । अन्य देशमा पनि विवरण संकलनको क्रममा रहेको एनआरएनले जनाएको छ ।