कोरोना सन्त्रास

‘नेपाल भारत सीमा–खुलेआम भित्रने अटेरीहरु’

मंगलबार, २५ चैत्र २०७६, २० : ४९
‘नेपाल भारत सीमा–खुलेआम भित्रने अटेरीहरु’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न अनुरोध गरे । तर नेपाल भारत सीमा नाकाबाट दैनिक आइरेका र विदेशबाट आएकाले अटेरीहरुले परिक्षण नगराई समुदायमा बसिरहेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आएका  नागरिकले क्वारेन्टाइनमा बस्न नमानेको भन्दै क्वारेन्टाइनमा बस्न अनुरोध गरेका हुन् ।

उनले त्यसरी आउनेले स्वास्थ्यकर्मी, जनप्रतिनिधिसँग सम्पर्क गरेर कोरोना विरुद्धको लडाइमा सघाउन अपिल पनि गरे । हुन पनि एक जनाको लापरवाही कति खतरनाक हुन्छ । त्यो अमेरिकको उच्च संक्रमणले पुष्टि गरिसकेको छ । त्यहाँ त्यसरी विदेशबाट आएका एकाधले र सरकारले पनि ध्यान नदिदा आज धेरैले ज्यान गुमाउन पुगे । यही तथ्य जानेर होला, प्रधानमन्त्री ओलीले भने, एक जनाको लापरबाहीले परिवार, समुदाय हुँदै राष्ट्रलाई नै क्षति पुरयाउन सक्छ ।

तर पछिल्लो समय विदेशबाट यस अघि नै आएका सबै नेपाली नागरिक संक्रमणको परिक्षण गर्न प्रयोगशाला वा अस्पतालको ढोका ढकढकाउन पुगेका छैनन् । अझ नेपाल भारतको नाका हु्ँदै नेपाल प्रवेश गर्नेको हुल थामिएको छैन् । सिराहा, सप्तरी, नेपालगंज, दार्चुला, काकडभिट्टा, माडी, ठोरी, विरगंज लगायतका सीमा नाकाबाट दैनिक जसो नै तिब्र आवत जावत भैरहेकै छन् । सरकारले नेपाल भारत सीमामा रहेका र आउनेको व्यवस्थापन गरिने बताइरहँदा असावधानीपूर्वक आउने अटेरीहरुको संख्या घटेको छैन् ।

मुख्य बाटोमा ढाट टाँगिएको हुन्छ । प्रहरी र स्वास्थ्यकर्मी उपकरण लिएर उभिएका हुन्छन् । तर अटेरीको समुह हात हल्लाउदै चोरबाटोबाट खुलेआम नेपाल भित्रिरहेका छन् । यसरी चोरबाटोबाट आएका कतिपयको फोटो  सामाजिक सञ्जालमा पोष्टिरहेका छन् । यतिबेला भारतमा कडा संक्रमण चलिरहेको छ । दैनिकजसो एकसय बढिमा कोरोना भाइरसको संक्रमण भैरहेका छन् । विगत २४ घण्टामा मात्र १३० जनामा संक्रमण देखिएको छ । हालसम्म ४ हजार ९०८ जनामा संक्रमण भेटिइसकेको छ । जसमध्ये १३७ जनाको मृत्यु भैसकेको छ ।

विश्व स्वास्थ्य संगठनले दक्षिण एसियामा संकट मौलाइरहेको बताइरहँदा भारतमा तिब्रदरमा संक्रमण बढेको बढ्यै छ । तर त्यहीँबाट जोगिने नाममा संक्रमणको पोको बोकेर आउने अटेरीहरु क्वारेन्टाइनमा नबसी समुदायमा विरचण गरिरहेका छन् । नेपालमा सबैभन्दा बढि संकट यतिबेला भारत नै हो । तर सरकारले लकडाउनको अवधि लम्ब्याउदै गर्दा अटेरीहरुको काममा भने भुस भरिए झै भएको छ । न त उनीहरुले आफ्नो स्वास्थ्यको ख्याल गरेका छन् । न त आफ्ना परिवार र समुदायको नै ।

रोटीबेटीको सम्बन्धको नाता जनस्वास्थ्यका लागि यतिबेला घातक बन्दै गइरहेको छ । कोही मामा घर जाने, कोही ससुराली जाने त कोही माइत जाने बहानामा सीमापारबाट जंगल, नदी र चोरबाटोबाट नेपाल भित्रिरहेका छन् । लक डाउनको समय भएपनि रातको समयमा हिडेरै एक शहरबाट अर्को र एक प्रदेशबाट अर्को प्रदेशमा ति अटेरीहरु भ्रमण गरिरहेका छन् ।

केहीदिन अघिमात्र दार्चुलामा महाकाली नदी तरेरै केही अटेरीहरु जबरजस्ती भित्रिएका थिए । केही अटेरी क्वारेन्टाइनमा नबसी भागाभाग गरेका थिए । सुटुक्क भित्रने अटेरीको लेखाजोखा स्वयं सरकारले पनि गर्न सकेको छैन् । जुन कोरोना भाइरसभन्दा पनि खतरनाक भाइरस बनेर देश भित्रिरहेका छन् । जुन देशमा छन् त्यही देशले व्यवस्थापन गर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड खुलेआम उल्लंघन भैरहेको छ ।

यसरी अटेरी गर्नेको गतिलो व्यवस्थापन नेपाल भारतमा सीमानामा नगरिएको खण्डमा भारतमा फैलदै गएको कोरोनाको जालो नेपालमा नआउला भन्न सकिन्न । त्यसैले सरकार, प्रहरीमात्र हैन आफन्ती र स्थानीय समुदायले पनि प्रतिरोध गर्ने वातावरण बनाउनु आवश्यक देखिएको विज्ञहरु बताउँछन् । आफन्तीको मलामी जानुभन्दा अहिले नै सावधानी अपनाउन सीमापारबाट आउने ति अटेरीलाई चेतको लौरोले सचेत गराउनुपर्नेमा विज्ञ जोड दिन्छन् ।

प्रतिक्रिया दिनुहोस